दाङ, ३१ भदौ । दाङमा दुई वटा सवारी साधन एक-आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा परी तुलसीपुर-१६ डोक्रेनाका १३ वर्षिय दामोदर भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भिर घाइते भएका भण्डारीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले बताउनुभयो ।
दुर्घटनामा परी अटो चालक तुलसीपुर ६ गोलौराका ५७ बर्षिय तिल बहादुर कार्की, तुलसीपुर १६ डोक्रेनाका लोकबहादुर बस्नेतको ११ बर्षिया छोरी वर्षा बस्नेत, ६ वर्षिया श्रृष्टी बस्नेत र सोही ठाउँका प्रकास डाँगीकी छोरी १८ वर्षिया मञ्जु डाँगी घाईते भएको डिएसपी पोखरेलले बताउनुभयो ।
घाइतेको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । नेपालगञ्जबाट रुकुमतर्फ जाँदैगरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर-१६ डोक्रेनाबाट तुलसीपुरतर्फ आईरहेको रा १ ह ४४५९ नम्बरको अटोलाई आइतबार बिहान करिब ९ बजेतिर टरिगाउँ बिमानस्थल नजिकै ठक्कर दिएको हो । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।