२०८२ बैशाख १० गते बुधवार

विद्यार्थीलाई किताबभन्दा बाहिरको ज्ञान दिन कपुरकोटमा ‘शैक्षिक जागरण अभियान’

सल्यान, २४ भदौ । विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिरी ज्ञान दिन सल्यानको कपुरकोट गाउँपालिकामा ‘शैक्षिक जागरण अभियान’ संचालन हुने भएको छ । गाउँपालिकामा संचालित आधारभूत र माध्यमिक विद्यालयमा ‘शैक्षिक जागरण अभियान’ संचालन हुने भएको हो ।

गाउँपालिकाका भित्रका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि ‘शैक्षिक जागरण अभियान’ संचालन हुन लागेको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो । ‘विद्यार्थीलाई किताबी ज्ञान भन्दा बाहिरको ज्ञान दिन शैक्षिक जागरणको अभियान संचालन गर्न लागेका हौँ ।’ उहाँले भन्नुभयो-‘यस जागरण अभियानमा कुनै पनि विज्ञता हासिल गरेको व्यक्तिले विद्यार्थीलाई पढाउन सक्नुहुनेछ ।’

विद्यार्थीलाई समसामयिकदेखि राजनैतिक, प्रशासनिक लगायतका कुराको ज्ञान दिनका लागि गाउँपालिका भित्रका ६ वटा आधारभूत र ५ वटा माध्यमिक विद्यालयमा अभियान संचालन हुने उहाँले बताउनुभयो । ‘कक्षा ६ देखि १२ सम्म पढाई हुने आधारभुत र माध्यमिक विद्यालयमा यो अभियान संचालन हुने छ ।’ उहाँले भन्नुभयो -‘यस अभियानले विद्यार्थीलाई व्यवहारिक, नैतिकवान मात्रै होइन, सफलता प्राप्तीमा महत्वपूणर् भूमिका खेल्ने छ ।’

अभियान अन्तर्गत समाजमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिले विद्यालयमा अधिकतम दुई घण्टीसम्म पढाउन पाउने अध्यक्ष पुनले बताउनुभयो । विद्यार्थीलाई सामाजिक, शैक्षिक, प्रशासनिक, आर्थिक, उत्प्रेरणात्मक, स्वास्थ्य, कृषि, रोजगार, निर्माण, खोज, विज्ञान, बन तथा वातावरण, विपद् व्यवस्थापन, नैतिक शिक्षा, न्यायिक प्रकृया लगायतका विषयमा विज्ञहरुबाट साप्ताहिकरुपमा कक्षा संचालन हुने भएको हो ।

शैक्षिक जागरण अभियानमा सहभागी हुन चाहने विज्ञहरुलाई आफुले लिन चाहेको कुराको प्रस्ताव पेश गर्नका लागि असोज ५ गतेसम्मको समय तोकिएको छ । कतिपय विज्ञले निशुल्क कक्षा लिनेछन् भने शुल्क लिन चाहने विज्ञलाई गाउँपालिकाले न्यूनतम शुल्क बेहोर्ने अध्यक्ष पुनले बताउनुभयो ।

सशुल्क वा निशुल्क गाउँपालिकालाई उपलब्ध गराउने प्रतावनामा खुलाउनुपर्ने गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो । शैक्षिक जागरण अभियानमार्फत विद्यार्थीलाई कितावी ज्ञानभन्दा बाहिरी ज्ञान दिने उद्देश्य रहेको उहाँको भनाई छ ।

अभियानमा सहभागीता हुन चाहने विज्ञले प्रस्तावना पेश गर्नका भदौ २१ गतेदेखि असोज ५ गतेसम्मको समय तोकिएको प्रमुख प्रशासकिय अधिकृत वलीले बताउनुभयो ।

प्रस्तावना आएपछि विद्यालयसंगको आपसी समझदारीमा समय उपलब्ध गराउने उहाँको भनाई छ । गाउँपालिकाको शैक्षिक जागरण अभियानमा विद्यालयमा पढिरहेका विद्यार्थीले पाठ्यक्रमभन्दा बाहिरको कुरा सिक्न पाउने भएकाले प्रशंसनिय कुरा रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको जीवनज्योति नमुना माविका प्रधानाध्यापक भुपाल साहुले बताउनुभयो ।

‘विद्यार्थीलाई पढ्नपर्छ भन्ने भावनाको विकास गराउन पनि शैक्षिक जागरण अभियानले महत्वपूणर् भूमिका खेल्ने छ ।’ उहाँले भन्नुभयो-‘विद्यार्थीमा सर्वाङ्गीन विकासका लागि नैतिक, व्यवहारिक ज्ञान सिपको आवश्यकता पर्ने भएकाले अभियानले महत्वपूणर् भूमिका खेल्ने छ ।’

विद्यार्थीले छुट्टै शुल्क पनि बुझाउनु नपर्ने भएकाले विद्यार्थीलाई आर्थिक भार नपर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस