दाङ, २२ भदौ ।
राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन)का केन्द्रिय अध्यक्ष पाण्डव हमालले संसदबाट पारित भएको शिक्षा विधेयकका केहि बुँदामा नीजि विद्यालयको असहमती रहेको बताउनुभएको छ ।
नेशनल प्याव्सन दाङको छैठौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष हमाले सरकारसंग भएका १० बुँदे सहमती कार्यान्वयन नभए थप संघर्षमा उत्रने चेतावनी दिनुभयो ।
विधेयकमा राज्यले व्यक्तिगत सम्पति हडप्ने नीति रहेको उहाँको भनाई छ । अहिलेको शिक्षा विधेयकले नीजि विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदानको अवमूल्यन भएको छ । शिक्षा विधेयक २०८० मा निजी विद्यालयलाई अकुंश लगाउन खोजेकोले निरन्तर संघर्षमा रहेको उहाँले बताउनुभयो ।
एनप्याव्सन दाङका अध्यक्ष बिमल गौतमको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको हो । कार्यक्रममा उपमेयर स्यानी चौधरीले शिक्षाले नै जीवन परिवर्तन गर्ने भएकाले शैक्षिक उपलब्धिमा जोड दिनुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले पढ्ने संस्कारको विकास गराउनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण सचिव ठाकुरप्रसाद डाँगीले गर्नुभएको हो ।