तुलसीपुर, १६ भदौ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा विपन्न विद्यार्थीहरुलाई निशुल्क अध्यापन गराइने भएको छ ।
तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि स्थानीय सरकारले सञ्चालन गरेको कलेजमा प्रिडिप्लोमा तहमा आइटी र मेकानिकल इन्जिनियरिङ्ग निशुल्क अध्यापन गराइने कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए । कलेज प्रमुख आचार्यले कार्यक्रममा अध्ययनका लागि भर्ना फाराम खुल्ला भएको पनि जानकारी दिए ।
‘यो महिनाभित्रमा विद्यार्थीहरुले भर्नाका लागि फाराम भर्न सक्छन् ।’ आचार्यले भने-‘ आर्थिक समस्याका कारण कुनै पनि विद्यार्थी पढाईबाट बञ्चित हुन पर्दैन ।’
उनले २ वर्षे कार्यक्रमका लागि ५० जना विद्यार्थीहरुलाई अध्यापन गराइने र उनीहरुलाई २ वर्षसम्म मासिक ३ हजारका साथै पोशाक र बिमा सुविधा समेत दिइने जानकारी दिए । ‘विद्यार्थीबाट हामीले कुनै पनि शुल्क लिदैनौ, शैक्षिक सामग्रीहरु समेत कलेजले निशुल्क प्रदान गर्दै आएको छ ।’
कलेज प्रमुख आचार्यले भने-‘सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश र सिटिइभिटीको सहयोगमा कार्यक्रम सञ्चालन हुन लागेको हो ।’
कलेजले यो भन्दा अगाडी पनि ७० जना विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा अध्यापन गराइरहेको उनले बताए । औद्योगिक प्रशिक्षार्थी अन्तर्गतको कार्यक्रममा ३ महिना अध्ययन गरेपछि उद्योगमै सिकाइ गर्नुपर्ने प्रावधान रहेको छ ।
‘विद्यार्थीलाई कक्षाकोठामा मात्रै होईन उद्योगमै अध्यापन गराइने भएको हुँदा उनीहरुले सीप सिक्ने अवसर प्रदान गर्दछन् ।’ उनले भने-‘प्रिडिप्लोमा तह अध्ययन गरेको विद्यार्थीहरुले लोकसेवा आयोगको चौथो तहमा समेत प्रतिष्पर्धा गर्न पाउने गरेका छन् ।’
तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि विभिन्न परियोजनासँग मिलेर कार्यक्रमहरु सञ्चालन गरिरहेको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले बताए ।