२०८१ माघ ८ गते मङ्गलवार

मकैमा डाँठ कुहिने समस्याले किसान चिन्तित

दाङ, ३१ साउन । दाङको शान्तिनगरमा राजकुमार जातको हाईब्रिड मकैमा डाँठ कुहिने समस्या देखिएको छ । शान्तिनगर गाउँपालिका वडा नम्बर ४ कजेरीटोलको एकलीमा किसानले लगाएको राजकुमार जातको हाईब्रिड मकैमा डाँठ कुहिने समस्या देखिएको हो ।

मकैको फल नलाग्दै डाँठ कुहिने समस्या देखिएपछि किसान चिन्तित भएका छन् । डाँठ कुहिने समस्याले मकै धमाधम ढल्न थालेको किसान तेज विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार राजकुमार जातको मकैमा डाँठ कुहिने समस्या यसवर्ष पहिलो पटक देखिएको हो । उत्पादन दिने बेलामा मकैमा समस्या देखिएको उहाँले बताउनुभयो ।

राजकुमार जातको मकै पहिला पनि लगाएकोले उत्पादन राम्रो दिएपछि निरन्तरता दिँदा यसवर्ष समस्या देखिएको उहाँको भनाई छ । उहाँले लगाएको १२ कठ्ठा जग्गाको मकैमा नै समस्या देखिएको छ ।

गाउँमा करिब ६० घरका किसानले लगाएको मकैमा अहिले डाँठ कुहिने समस्या देखिएको छ । मकैको फल राम्रो लागेको तर खान तयार नहुँदै डाँठ कुहिने समस्या देखिएपछि किसान चिन्तित भएका छन् ।

मकैले उत्पादन दिने बेलामा डाँठ कुहिन थालेपछि समस्यामा परेका अर्का किसान पदमराज कडेँलले बताउनुभयो । उहाँले मकैमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको बताउनुभयो ।

शान्तिनगर गाउँपालिकाका कृषि शाखा प्रमुख यमकान्त पाण्डेले राजकुमार जातमात्रै नभएर सबै जातको मकैमा समस्या देखिएको बताउनुभयो । उहाँले मकैमा देखिएको रोगबारेमा गाउँपालिका, कृषि ज्ञान केन्द्र लगायतका ठाउँमा जानकारी गराएको बताउनुभयो । मकैमा देखिएको समस्या किटनाशक औषधिले समाधान नहुने पनि बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस