
रोल्पा, २३ साउन । रोल्पाको बागमाराबाट दाङको घोराहीका लागि छुटेको बस दुर्घटनामा परी मृत्यु भएका र घाइतेको पहिचान खुलेको छ । सहिदमार्गअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँस्थित रिचि गाउँको सडक खण्डमा मंगलबार दिउँसो १ बजेतिर भएको दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मंगलबार १ बजेतिर ना ५ ख २६१२ नम्बरको बस रिचि सडकबाट करिब १ सय ५० मिटर मुनि खोल्सोमा खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी घटनास्थलमा मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका निवासी २२ वर्षीय प्रकाश बाठा, माडी-४ का ५१ वर्षीय गोर्खे डाँगी र उहाँकी ५० वर्षीया श्रीमती हस्ता डाँगी र रोल्पाको परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्त विक रहनुभएको छ ।
दुर्घटनामा परी रोल्पाको माडी-६ का १४ वर्षीय नवीन बुढामगर, रोल्पा त्रिवेणी-७ छम्पासुनारीका ६२ वर्षीय कमानसिंह सुनार, रोल्पा नगरपालिका-६ दारबोटका २५ वर्षीय कमानसिंह घर्तीमगर, रोल्पा माडी-४ का ९ वर्षीय मिलन डाँगी, रोल्पा माडी-६ कोर्चाबाङका १५ वर्षीय मुकेश पुन, रोल्पा माडी-२ घर्तीगाउँका २० वर्षीय जितेश बाठा, रोल्पा माडी-७ का २३ वर्षीया हिमानी घर्तीमगर र उहाँको छोरा ११ महिनाको ओल्सन घर्तीमगर घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी रोल्पा माडी-४ का २२ वर्षीया कबिता खड्का र उहाँका छोरा ५ वर्षीय युस खड्का, माडी-४ की २६ वर्षीया मीना डाँगी, रोल्पाको माडी-२ घर्तीगाउँकी २८ वर्षीया तिरपना बाठा, रोल्पाको परिवर्तन-३ की २४ वर्षीया खुम्बु बुढा, रोल्पाको त्रिबेणी-२ नुवागाउँकी १७ वर्षीया पूणर्िमा बुढा, रोल्पा त्रिवेणी-२ कै १३ वर्षीया सुस्मिता बुढा, रोल्पाको माडी-२ की ४० वर्षीया बिर्जना घर्तीमगर, रोल्पाको माडी-२ घर्तीगाउँका २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका-६ दारबोटका २४ इन्द्रकुमार घर्तीमगर र दाङ घोराही उपमहानगर-१२ हापुरका बसका चालक २४ वर्षीय हुमराज बस्नेत घाइते हुनुभएको छ ।
घाइते अवस्थामा भेटिएका बसका चालक बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोल्पाका प्रहरी प्रमुख श्याम सारु मगरले दुर्घटनास्थलबाट मृतकको शव फेला पारिएको र घाइतेहरुलाई उद्धार गरेर अस्पतालमा पठाइएको बताउनुभयो ।
स्थानीयका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको अनुमान गरिएको छ ।