२०८१ फाल्गुन ३ गते शनिवार

आँखा पाक्ने रोगका बिरामी बढ्दै

दाङ, १८ साउन । आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड बढ्न थालेको छ । अहिले दाङ उपत्यकासहित देशभरका आँखा अस्पतालमा बिरामीको चाप बढेको छ ।

आँखा पाक्ने समस्याका बिरामी १० दिन अघिदेखि सामान्यरूपमा देखिए पनि आइतबारदेखि अत्यधिक बढेको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले जानकारी दिनुभयो ।

हरेक वर्ष वर्खापछि आँखा पाक्ने रोग देखिन्छ तर यो वर्ष ४/५ दिनमै अत्यधिक बढेका छन् । गत वर्षको हामीले दैनिक तीन सय ५० देखि चार सय जनासम्म बिरामी जाँच गरेकोमा अहिले त्यो संख्या दैनिक पाँच सय ५० जनासम्म पुगेको छ ।

राप्ती आँखा अस्पताल तुलसीपुरबाट बुधबार पाँच सयबढीले सेवा लिए । तीमध्ये ७५ प्रतिशत बढी आँखा पाक्ने समस्याका बिरामीले सेवा लिएको अस्पतालले बताएको छ ।

पानी पर्ने यो सिजनमा आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या देखिने नेत्र अधिकृत गौतमले बताउनुभयो । हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् । उहाँका अनुसार यो सरुवा रोग हो ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस