
दाङ, १२ साउन । दाङमा सवारी दुर्घटनाबाट प्रत्येक महिना कम्तिमा पनि सात जनाको मृत्यु हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको चार वर्षको तथ्यांकलाई विश्लेशण गर्दा जिल्लामा सवारी दुर्घटनाबाट हरेक महिना कम्तिमा पनि सात जनाको मृत्यु हुने गरेको हो ।
सवारी दुर्घटनामा परी दाङमा मात्रै बितेको चार बर्षमा २ सय ९८ जनाले मृत्युवरण गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा १ सय ११ सवारी दुर्घटनामा परि ७१ जनाको मृत्यु भएको छ ।
यसैगरी आर्थिक बर्ष २०७७÷०७८ मा १ सय १० सवारी दुर्घटना हुँदा ७७ जनाको मृत्यु भएको छ । आर्थिक बर्ष २०७८÷०७९ मा १ सय २४ सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ ।
यस्तै बितेको आर्थिक बर्ष २०७९÷०८० मा १ सय २३ सवारी दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको छ । सडकको बिग्रदो अवस्था, भौगोलिक विकटता, चालकको लापरबाही, यान्त्रिक गडबढी लगायतका कारणले सवारी दुर्घटनामा वर्षेनी मानविय क्षति हुने गरेको छ ।