२०८१ असोज १८ गते शुक्रवार

दाङमा १ हजार ९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया

दाङ, ५ साउन । उज्यालो अभियान कार्यक्रम अन्तर्गत दाङका बिभिन्न अस्पतालबाट करिब १ हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारसँग आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गरेको हो ।

नागरिकहरुले मोतियाविन्दुका कारण दृष्टिविहीन जीवन यापन गर्नु नपरोस् र नेपाल सरकारको आँखा स्वास्थ्य रणनीतिलाई समेत सहयोग पुर्याउने उद्देश्यले स्थानीय तहरुसँग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरी गत आर्थिक वर्षमा उज्यालो अभियान सञ्चालन गरिएको प्रमुख प्रशासक सम्शेर थापाले बताउनुभयो ।

उक्त कार्यक्रम अन्तर्गत एक वर्षमा १ हजार ८ सय ९९ जनालाई उज्यालो प्रदान गरिएको उहाँले बताउनुभयो । पैसा र पहुँचको अभावका कारण कोही कसैले पनि अनाहाकमै आँखाको ज्योति गुमाउन नपरोस् भन्ने मुख्य उद्देश्यका साथ उज्यालो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।

उज्यालो अभियान अन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा १ सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना, बबई गाउँपालिकामा ४९ जना र दंगिशरणमा एकसय जनाको मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिनुभयो ।

त्यस्तै, सबै भन्दा बढी देउखुरीमा रहेको लमही आँखा अस्पतालले लमही नगरपालिका भित्रका ४ सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १० जना राजपुर गाउँपालिका वडा नं ३ ले ५ जना र लमही नगरपालिका वडा नं. ६ ले ९ जनाको गरि ७ सय ३२ जना यस आर्थिक वर्षमा मोतियाविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गरेको नेत्र सहायक विमल घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै लमही आँखा अस्पतालले प्युठानको सरुमाई रानी गाउँपालिकामा समेत साझेदारी मार्फत उज्यालो अभियान पुर्याई ४९ जना मोतियाविन्दुका बिरामीहरुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको छ ।

त्यस्तै प्युठानको सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले यस आर्थिक वर्षमा करिब ४९ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको भन्दै अब ३२० जनाको शल्यक्रिया गर्नुपर्ने तथ्यांकले देखाएको बताउनुभयो ।

नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस