दाङ, १ साउन । दाङमा एक विद्यालयले एसईई परीक्षाको आन्तरिक मूल्यांकनको नम्बर दिँदा गम्भीर त्रुटि भएको फेला परेको छ ।
घोराहीस्थित पद्मोदय नमूना माध्यामिक विद्यालयले परिक्षामा आन्तरिक मूल्यांकनमा सबै विषयमा एउटै अंक दिएपछि विद्यार्थीले वास्तविक नतिजा प्राप्त गर्न नसकेको कुरा खुलेको हो । विद्यालयले नम्बर दिँदा त्रुटि भएको फेला परेपछि गत शुक्रबार राष्ट्रिय परिक्षा बोर्डले ३३० जना विद्यार्थीको नतिजा सच्चाएको हो ।
गत असारमा एसईईको नतिजा प्रकाशन भएपछि अभिभावकले आन्तरिक मूल्यांकन (प्रयोगात्मक) तर्फ सबै विषयमा विद्यार्थीको बराबर अंक आएको देखेपछि गुनासो गरेका थिए । त्यसपछि शिक्षक अभिभावक संघका अध्यक्ष विश्वराज आचार्य, विद्यालयका प्रधानाध्यापक मोहन अधिकारीसहितको टोली काठमाडौं पुगेका थिए ।
विद्यार्थीको नतिजामा त्रुटि भएको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यसबारे पहल गर्नुभएको थियो । त्यसपछि राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थीहरुले पाउनुपर्ने वास्तविक नतिजा प्रदान गरेको हो ।
विद्यालय प्रशासनबाट कमजोरी भएको फेला परेपछि परीक्षा बोर्डले गत शुक्रबार अंक सच्याएर पीडित विद्यार्थीले पाउनुपर्ने वास्तविक दिएको अभिभावक संघका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । विद्यालय प्रशासनले भने नतिजा चढाउने बेला प्राविधिक कारणले नजिता त्रुटि हुन पुगेको भन्दै गल्ती स्वीकारेको छ ।