२०८१ फाल्गुन १ गते बिहिवार

विषालु च्याउले लियो, तीन आमाछोराको ज्यान

रोल्पा, ३१ असार । विषालु च्याउ खाँदा रोल्पामा तीन आमा छोराको मृत्यु भएको छ । लुंग्री गाउँपालिका-५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ, उहाँका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।

उनीहरुले २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका थिए । जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको भुसालले जानकारी दिनुभयो ।

६ वर्षका प्रेम गुरुङको २८ असारमा, ११ वर्षका सुशील गुरुङको शनिबार र आमा भीमाको आइतबार मृत्यु भएको हो । लुंग्री गाउँपालिका-५ बुझिङमा जंगली च्याउ खाएका कारण ५ जना बिरामी परेका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै २८ असारमै लुंग्री गाउँपालिका-१ मा पनि जंगली च्याउ खाएर ६ जना बिरामी परेका थिए । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस