२०८१ कार्तिक २० गते मङ्गलवार

प्रतिष्ठानमा निधन भएका बालकका आफन्तले गरे, घोराही–लमही सडक अवरुद्ध

दाङ, २९ असार । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित आफन्तहरूले घोराही लमही सडक अवरुद्ध पारेका छन् ।

बिहीबारदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदर्शन गरिरहेका मृतकका आफन्तहरुले शुक्रबार दिउँसोदेखि सडक अवरुद्ध गरेका हुन् । छारे रोगका बिरामी घोराही उपमहानगरपालिका ३ का १२ वर्षीय आक्रोश नेपालीको उपचारका क्रममा बिहीबार प्रतिष्ठानमा मृत्यु भएको थियो ।

एमआरआई गर्ने क्रममा स्वास्थ्यकर्मीको लापर्बाहीका कारण बालकको ज्यान गएको आफन्तहरुको आरोप छ ।

नेपालीलाई अक्सिजन सिलिन्डरसहित एमआरआई कक्षमा लगिएकोमा एमआरआईको चुम्बकले सिलिन्डर तानेको थियो । सिलिन्डर एमआरआई मेसिनमा टाँसिन पुग्दा मेसिनमा क्षति पुगेको छ । यसबाट बालकलाई असर परेर मृत्यु भएको परिवारको दाबी छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले भने सिलिन्डरलाई चुम्बकले तानेको भए पनि बालकलाई कुनै पनि चोटपटक नलागेको बताउनुभयो । नेपालीको स्वास्थ्य समस्या बढेर मृत्यु भएको उहाँले दावि गर्नुभयो ।

मृतकका आफन्तले सडक अवरुद्ध गर्नुका साथै प्रहरीको गाडीमा तोडफोड समेत गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताउनुभयो । मृतकका आफन्तहरुसँग छलफल भैरहेको र सडक खुलाउने प्रयास जारी रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस