२०८० फाल्गुन १५ गते मङ्गलवार

दंगिशरणको बजेट पारित

दाङ, १५ असार । दंगिशरण गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । गाउँपालिकाको १५ गाउँसभाको तेस्रो बैठकले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेट पारित गरेको हो ।

असार १० गते नीति कार्यक्रम र बजेट एकै पटक ल्याएको गाउँपालिकाले बुधबार दुई तिहाई बहुमतले आगामी वर्षको बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष शम्भु गिरीले सभामा पेशमा गरेको आगामी आर्थिक वर्षको बजेट दुई तिहाई बहुमतले पारित भएको हो ।

दंगिशरण गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड ६१ लाख ७० हजार बराबरको अनुमानित बजेट ल्याएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २७ करोड ५३ लाख १८ हजार अर्थात ६३ दशमलव १२ प्रतिशत चालुतर्फ र पुँजिगततर्फ १६ करोड ८ लाख ५२ हजार अर्थात ३६ दशमलव ८८ प्रतिशत बजेट बिनियोजन गरेको छ ।

सभामा आर्थिक विधेयक २०८० र बिनियोजन विधेयक पनि पारित भएको छ । सभामा वडा नम्बर २ का वडा अध्यक्ष डम्बर बहादुर खत्री, वडा नम्बर ५ का अध्यक्ष कमल थारु, कार्यपालिका सदस्य भुमप्रसाद देवकोटा र सीतारा नेपालीले बिनियोजित बजेट कार्यान्वयन गर्न सबैको भूमिका महत्वपूणर् हुने बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस