दाङ, २१ असार । दाङ–सल्यान सडकखण्ड अन्तगर्त सल्यानको चोरखोलामा गुडिरहेको बसमा करेन्ट लाग्दा तीन जनाको मृत्यु भएको छ ।
बिहिबार बिहान नौ बजेतिर दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगेका लागि छुटेको रा १ ख ८३४ नम्बरको यात्रुबहाक बसमा करेन्ट प्रवाह हुँदा दुई बावुछोरासहित तीन जनाको मृत्यु भएको हो ।
करेन्ट लागेर रोल्पाको गङ्गादेव गाउँपालिका–४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी, उनका ४० वर्षीय छोरा टोपलाल डाँगी र गाडी धनी सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय महेन्द्र ओलीको मृत्यु भएको हो ।
बावुछोरा दुवैको घटनास्थलमै निधन भएको हो भने गाडी धनी ओलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । ‘बसमा करिब २० जना यात्रु थिए, करेन्ट लागेपछि तीन जनाको निधन भयो ।’ उनले भने–‘बसको ढोका सर्पोट लिएका तीन जनालाई करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ ।’
घटनास्थलमा पहिरो गएका कारण बस छेउबाट लैजान खोज्दा विद्युतको पोल सर्पोटका लागि राखिएको तारले छुँदा बसमा करेन्ट प्रवाह भएको प्रवक्ता श्रेष्ठले बताए । ‘पोलको सर्पोट तारले छुँदा करेन्ट लागेको हो ।’ उनले भने–‘चालक र अरु यात्रु भने सकुशल रहेका छन्, उनीहरुले बसमा करेन्ट प्रवाह हुने ठाउँ छुन नपाएका कारण थप दुर्घटना हुनबाट जोगिएको हो ।’
बस तुलसीपुरबाट बिहान नौ बजेतिर छुटेको थियो । रोल्पाका लागि छुटेको बसमा बिहान साढे दशबजेतिर सल्यानको चोरखोलामा करेन्ट लागेको हो ।