दाङ, ६ असार । पानी पर्न थालेसँगै दाङसहित पश्चिम तराईमा तापक्रम घटेर राहत मिलेको छ । तातो हावा अर्थात् ‘लू’ चल्न छोडेको छ । दुई हप्ताभन्दा लामो समयसम्म चलेको तातो हावाका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको थियो ।
पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम घट्न थालेको छ । अधिकतम तापक्रम झण्डै ५ डिग्री सेल्सियससम्मले घटेको छ । केहि दिनअघि ४० डिग्रीसम्म पुगको दाङको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।
त्यस्तै, नेपालगञ्जको ३६ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । गएको १ गते नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस थियो ।
पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गरेको छैन । तर त्यहाँ अरब सागरमा विकसित भएको बिपरजोय आँधीको प्रभावले केही ठाउँमा हल्का वर्षा गराएको छ भने धेरैजसो ठाउँमा बादल लाग्न थालेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति : २०८० असार ६ गते बुधवार