२०८१ असोज ४ गते शुक्रवार

सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

दाङ, ५ असार । सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी सङ्ख्या बढाउन थुप्रै योजना बनाएर करोडौँ रुपैयाँ लगानी गरे पनि सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव झन्झन् समस्याको विषय बन्दै गएको छ ।

दाङको तुलसीपुर १९ मा रहेको गणेश आधारभूत विद्यालय तिनुखोलामा विद्यार्थीको सङ्ख्या घट्दो छ । २०४१ सालमा खुलेको गणेश आधारभुत विद्यालयमा अहिले ५ कक्षासम्म मात्र पढाइ भइरहेको छ । यो विद्यालयमा अहिले जम्मा ५२ जना विद्यार्थी छन् ।

विद्यालयमा ८ कक्षासम्मको पढाइ गराउन चाहे पनि विद्यार्थी थोरै भएकाले सम्भव नभएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर ओलीले बताउनुभयो ।

सामुदायिक विद्यालयप्रतिको गतल बुझाइका कारण निजी विद्यालयमा विद्यार्थी बढ्ने तर सामुदायिक विद्यालयमा घट्ने अवस्था आएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष पूर्ण पुनले बताउनुभयो ।

तुलसीपुरमा रहेका १८ वटा आधारभूत विद्यालयमध्ये अहिले ३ वटामा मात्र ५ कक्षासम्मको पढाइ भइरहेको छ । बाँकी १५ वटा विद्यालयमा बाल विकासको पढाइ हुन्छ ।

तुलसीपुर उपमहानगरपालिकाले ५ कक्षासम्मका विद्यालयलाई कक्षा बढाउन अनुमति दिए पनि विद्यार्थी कम भएकाले कक्षा बढाउनेभन्दा पनि घटाउने अवस्था रहेको तुलसीपुर उपमहानगरका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो ।

शैक्षिक गुणस्तरका लागि सामुदायिक विद्यालयमा लगानी बढाउँदै लगे पनि अनेकौँ समस्या देखिएका छन् । तीमध्ये विद्यार्थी थोरै हुनु एक प्रमुख समस्याका रुपमा रहेको छ । विद्यार्थीको सङ्ख्या नबढाइ गुणस्तर वृद्धिका अन्य उपाय प्रभावकारी नहुने शिक्षाविद् बताउँछन् ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस