दाङ, १ असार । मगर समुदायको मौलिक पर्व भूम्या आजदेखि शुरु भएको छ । हरेक वर्ष असार १ गतेदेखि शुरु हुने यो पर्व र ठाउँ अनुसार ५ दिन देखि ७ दिनसम्म मनाउने गरिन्छ । दाङमा पनि थातथलो छोडेर बसाई सरी आएका मगर समुदायले यो पर्व धुमधामका साथ मनाउने गरेका छन् ।
आफ्नै मौलिकता र संस्कार, संस्कृती जोगाउन विभिन्न स्थानमा भूमे नाचेर भुमे पर्व मनाउने गरिन्छ । भुमे खामभाषी मगरहरुको मुख्य चाड हो । भूमिका पुजा, सामुहिक जीवनशैली र अग्रजको सम्मान भूमे पर्वको विषेशता हो ।
परापूर्वकालदेखि हरेक वर्षक असार १ गतदेखि मनाउने यो पर्वमा सबै उमेर समुहका मानिसहरु लहरै नाच्ने प्रचलन रहेको छ । जेठ १ गतेदेखि बाजा फुकाएर शुरु गरिने यो पर्वमा मूख्यगरी जमिन अर्थात प्रकृतिको पुजा गर्ने गरिन्छ ।
यो समयमा हिउँदे बाली भित्रिसकेको हुन्छ भने वर्षे बालीको शुुरुवात हुन्छ । हिउँदे बाली भित्रिएको खुशियाली र वर्षे वालीमा रोगकिरा नलागोस भनेर यो पर्व मनाउने गरिएको मगर समुदायका अगुवा बताउँछन् । बाजागाजा शुरु भयो भने प्रकृतिमा भएका चराचुरुङ्गी किरा फट्यांग्रा संगित सुन्न बाहिर निस्कन्छन् र बालीनालीलाई असर हुँदैन् भन्ने जनविश्वास मगर समुदायमा छ ।