२०८१ चैत्र ८ गते शुक्रवार

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट एक हजार चार सय बढीको मृत्यु

दाङ, ३० जेठ । लुम्बिनी प्रदेशमा करिब तीन वर्षको अवधिमा सवारी दुर्घटनाबाट ठुलो जनधनको क्षति भएको छ । प्रदेशमा आर्थिक वर्ष ०७७/०७८ देखि चालुवर्षको बैशाख मसान्तसम्ममा सवारी दुर्घटनामा एक हजार चार सय ६६ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष ०७७/०७८ मा ५२१, आर्थिक वर्ष २०७८/२०७९ मा ५५१ र चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ३८८ जनाको सवारी दुर्घटनामा मृत्यु भएको लुम्बिनी प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी डिएसपी होम बहादुर थापाले जानकारी दिनुभयो ।

प्रदेशका १२ जिल्लामध्ये सवारी दुर्घटनाबाट सबैभन्दा बढी मानविय क्षति हुनेमा रुपन्देही परेको छ । दुई वर्ष दश महिनाको अवधिमा सवारी दुर्घटनाबाट रुपन्देहीमा ३ सय ४० जनाले मृत्युवरण गरेका छन् ।

यस्तै सवारी दुर्घटनाबाट मानविय क्षति हुनेमा प्रदेशका १२ जिल्लामध्ये दोस्रोमा दाङ परेको छ । दाङका २ सय १८ जनाले विभिन्न समयमा भएको सवारी दुर्घटनामा परी मृत्युवरण गरेका छन् । यस्तै तेस्रोमा बाँके परेको छ । बाँकेमा दुई वर्ष दश महिनाको अवधिमा २ सय ११ जनाले सवारी दुर्घटनामा मृत्युवरण गरेका छन् ।

यस्तै कपिलवस्तुमा १८८, नवलपरासी पश्चिममा ११८, बर्दियामा ११०, पाल्पामा ८१, प्युठानमा ६७, गुल्मीमा ४९, रोल्पामा ४१, अर्घाखाँचीमा २३, रुकुम पूर्वमा १९ जनाले सवारी दुर्घटनामा मृत्युवरण गरेका छन् ।

सवारी दुर्घटनाबाट हुने क्षेति कम गर्न सकिएको छैन् । तिब्र गति, सडकको दुरावस्था, भौगोलिक विकटता, पुराना सवारीसाधनको प्रयोग लगायतका कारण सवारी दुर्घटनामा वर्षेनी सयौँ मानिसले मृत्युवरण गर्नुपरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस