२०८१ असोज ४ गते शुक्रवार

तुलसीपुरमा जेठ ३१ गतेदेखि दादुरा-रुवेला रोग विरुद्धको खोप अभियान संचालन हुने

तुलसीपुर, २६ जेठ । तुलसीपुरमा आउँदो बुधबारदेखि दादुरा-रुवेला रोग विरुद्धको खोप अभियान संचालन हुने भएको छ । असार ८ गतेसम्म संचालन हुने खोप अभियानमा नगरभित्रका ५२ हजार ९२५ बालबालिकालाई दादुरा-रुवेला रोग विरुद्धको खोप लगाइने भएको छ ।

नेपालमा अझैसम्म चार प्रतिशतले दादुरा रूवेला विरुद्धको खोप नलगाएको र २० प्रतिशतले पूणर्मात्रा नलगाएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी दिनुभयो । खोप अभियानका लागि तुलसीपुर ४ सय ३६ जना खोपकर्ता र ४ सय ३६ जना स्वंयसेवक खटिने उहाँले बताउनुभयो ।

तुलसीपुरका १ सय ४८ विद्यालयमा २ सय २१ खोप केन्द्र निर्धारण गरिएको छ । छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने जनस्वास्थ्य निरिक्षक केसीले बताउनुभयो । तुलसीपुरका विकट वस्ती वडा नम्बर १, ३, ४, १३ र १९ अनि घना वस्ती वडा नम्बर ६, ७, १८ थप अभियान संचालन हुने उहाँले बताउनुभयो ।

यसैबिच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध गर्नुभएको छ ।

दादुरा रोगमा छिटो फैलिने र मृत्युदुर पनि उच्च रहन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई रोग सार्न सक्छ । तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम पि न्यौपानले पहिला जति पटक दादुरा रुबेला खोप लगाएको भए पनि यस अभियानमा अनिवार्य एक मात्रा खोप लगाउन र अकालमै मृत्यु हुनबाट जोगिन अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस