२०८१ असोज ४ गते शुक्रवार

गर्मीले तराईका जिल्लाको जनजीवन प्रभावित

दाङ, २५ जेठ । तातो हावा लू का कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ । धेरैजसो विद्यालय बन्द भएका छन् भने अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । अत्यधिक गर्मी र तातो हावा लू का कारण टाउको दुख्ने, रिँगटा लाग्ने, वान्ता हुने, ज्वरो आउने, मांसपेशी दुख्ने जस्ता स्वास्थ्य समस्या देखिन थालेको छ ।

एक हप्ताभन्दा लामो समयदेखि चलेको लू अझै चार दिनसम्म चल्ने मौमसविद्ले अनुमान गरेका छन् । मौसमविद् गोविन्द झाका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेको र पश्चिमी वायु पनि कमजोर रहेकाले तराई मधेसमा अझै चार/पाँच दिन मौसम यस्तै रहन्छ ।

गर्मीले नागरिकलाई घर बाहिर निस्कन समेत मुस्किल पर्ने गरेको छ । डाक्टरहरुले घाम चर्किएका बेला सकेसम्म घर बाहिर नहिँड्न सुझाव दिँदै आएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि चर्को घाममा नहिँड्न तथा हिँड्नै परे छाता ओड्न, पातला कपडा लगाउन आग्रह गरेको छ ।

गर्मी र लू का विषयमा स्वास्थ्य मन्त्रालय र प्राधिकरणमा अनौपचारिक कुराकानी भइरहे पनि अब कसरी अगाडि बढ्ने भनेर औपचारिक छलफल भएको छैन ।

सरकारले मनसुनी समयमा हुने बाढी, पहिरो तथा डुबानलगायतका प्रकोपलाई विपद् अन्तर्गत राखे पनि लू तथा गर्मीलाई विपद् अन्तर्गत राखेको छैन ।

प्राधिकरणले प्रभावित क्षेत्रका पालिका तथा प्रदेशसँग पनि सहकार्य र समन्वयका लागि छलफल गर्ने तयारी गरेको छ । स्थानीय सरकारले पनि अहिलेसम्म लू प्रभावित क्षेत्रमा राहतका कुनै कार्यक्रम ल्याएको छैन ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस