दाङ- लुम्बिनी प्रदेश राजधानी दाङको देउखुरीमा रोक्का जग्गा फुकुवा गर्नका लागि एक महिनाभित्र मुख्यमन्त्री कार्यालयमा प्रतिवेदन पेश हुने भएको छ ।
मूख्यमन्त्री कार्यालयमा रोक्का जग्गा फुकुवाको लागि प्रतिवेदन पेश गर्ने सहमती भएपछि आन्दोलनरत संघर्ष समितिले आन्दोलन स्थगित गरेको छ ।
राजधानी क्षेत्रको जग्गा रोक्का हुँदा जनजीवन प्रभावित भएको स्थानीय अगुवा भरतप्रसाद पाण्डेले बताउनुभयो । प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा ३२ महिनादेखि जग्गा किनबेच रोक्का छ ।
लामो समयदेखि जग्गा रोक्का हुँदा दैनिक जीवनयापनसहित उद्योग, व्यापार सञ्चालनमा समस्या भएको छ । त्यस्तै अंशवन्डा तथा बैंक एवं वित्तीय संस्थाबाट कुनै पनि प्रकारको ऋण लिन समस्या भएको छ ।
लुम्बिनी प्रदेशको क्षेत्र रहेको राप्ती गाउँपालिकाको पूरै नौवटा वडा, गढवा–१, २ र ३ वडा तथा सितगङ्गा नगरपालिका–८ र ९ मा जग्गा रोक्का गरिएको छ । यसैबिच राप्ती उपत्यका क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ ।