दाङ । दाङमा चालु शैक्षिक सत्रमा करिब ९० प्रतिशत पाठ्यपुस्तक विद्यार्थीको हातमा पुगिसकेको छ । पाठ्यक्रम परिवर्तन भएका केहि पाठ्यपुस्तकबाहेक अधिकांश पुस्तक विद्यार्थीको हातमा पुगेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङका अध्यक्ष शंकर शर्माले जानकारी दिनुभयो ।
चालु शैक्षिक सत्रमा पाठ्यक्रम परिवर्तन भएका पुस्तक पनि जेठको पहिलो साताभित्रै विद्यार्थीको हातमा पुग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार संस्थागत तर्फ करिब १५ प्रतिशत र सामुदायिकतर्फ करिब १० प्रतिशत पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न बाँकी रहेको छ ।
संस्थागत र सामुदायिक दुवै तर्फ पाठ्यक्रम परिवर्तन भएका कक्षा ५, ८ र १० का पाठ्यपुस्तक अझै विद्यार्थीको हातमा नपुगेको हो । तर गतवर्षभन्दा यसवर्ष पाठ्यपुस्तकको आपुर्ति सहजै भएको पुस्तक व्यवसायीको दावि छ । दाङमा गतवर्ष जेठको अन्तिमसम्म पाठ्यपुस्तक पुगेकोमा यसवर्ष जेठको पहिलो साताभित्रै पाठ्यपुस्तक पुग्ने उहाँले बताउनुभयो ।
त्यसभन्दा अघिको शैक्षिक सत्रमा असारको अन्तिमसम्म विद्यार्थीले पाठ्यपुस्तक पाएका थिए । यसवर्ष जनक शिक्षा सामग्रि केन्द्रले समयमै पाठ्यपुस्तक छपाईको काम सकिएकाले पाठ्यपुस्तकको आपुर्तिमा सहजता भएको हो ।
जनक शिक्षा सामग्रि केन्द्रले यसवर्ष कक्षा १ देखि ५ सम्म नीति छापाखानालाई पुस्तक छपाईको काम दिएको र ६ देखि १० कक्षा सम्मको पाठ्यपुस्तक आफै छपाई गरेपछि यसवर्ष पाठ्यपुस्तक आपुर्तिमा सहज भएको हो ।