२०८१ असोज ४ गते शुक्रवार

निर्माण रोकिएको अस्पतालको लागि जग्गा प्राप्तीको प्रक्रिया शुरु

सल्यान, ३ बैशाख । सल्यानको कपुरकोट गाउँपालिकाले निर्माण रोकिएको अस्पतालको काम अघि बढाएको छ । गाउँपालिकाले अस्पताल निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अघि बढाएको हो ।

एक पालिका एक अस्पताल सरकारको नीति अनुसार कपुरकोट गाउँपालिकामा पनि १५ शैयाको अस्पताल निर्माण हुँदैछ । अस्पतालका लागि १२ करोडमा भवन निर्माणको काम २०७७ सालदेखि रोयल कन्ट्रक्सनले शुरु गरेको थियो ।

तर विस्तृत परियोजना (डिपिआर) स्विकृत नभई भवन निर्माण थालिएकोले पछिल्लो एकवर्ष देखि भवन निर्माण कार्य रोकिएको छ । डिपिआर अनुसारको जग्गा प्राप्तीका लागि गाउँपालिकाले प्रक्रिया अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो ।

‘डिपिआर अनुसारको जग्गा नभएपछि अस्पतालको भवनको निर्माण एक वर्ष अघि देखि रोकिएको छ ।’ उहाँले भन्नुभयो-‘१५ शैयाको अस्पतालको लागि ७ दशमलव २ रोपनी जग्गा अनिवार्य आवश्यक पर्ने रहेछ, त्यसका लागि स्थानीय बनको जग्गा प्राप्त गर्न प्रक्रिया अघि बढाएका छौँ ।’

यसअघि २ रोपनी पनि नपुगेको जग्गामा अस्पतालको भवन निर्माण कार्य शुरु गरिएको उहाँले बताउनुभयो । ‘१ दशमलव ८८ रोपनी जग्गामै अस्पतालको भवन निर्माण शुरु गरिएको रहेछ ।’ उहाँले भन्नुभयो-‘अहिले भवनको काम अघि बढ्दै गर्दाखेरी भुक्तानी लिन खोज्दा समस्या आएको हो ।’

अस्पतालको भवन निर्माणको काममा करिब चार करोड खर्च भइसकेको छ । अस्पतालको भवन रहेको ठाउँ नजिकमा बन क्षेत्रमा पर्छ । बनको जग्गा प्राप्त गर्न शुरुमा वातावरणिय प्रभाव मूल्यांकन गर्नुपर्ने र त्यसका लागि प्रक्रिया अघि बढेको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । ‘आइई अर्थात वातावरणिय प्रभाव मूल्यांकनको शुरुको चरणमा सार्वजनिक सुनुवाई पनि गर्नुपर्ने रहेछ, यो काम गत वर्ष चैत ३० गते नै गरिसकेका छौँ ।’ उहाँले भन्नुभयो-‘अब जग्गा प्राप्तीको लागि प्रक्रिया अघि बढेको छ ।’

प्रक्रियागत त्रुटीको कारण निर्माण कार्य रोकिएको हो । बन क्षेत्रमा पर्ने जग्गाको स्वामित्व नलिएरै अस्पतालको भवन निर्माणको काम शुरु भएको थियो । तर पछिल्लो समय अस्पतालको लागि आवश्यक पर्ने जग्गा प्राप्तीको लागि गाउँपालिकाले प्रक्रिया बढाएको हो ।

कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा १५ शैयाको अस्पताल निर्माण प्रक्रियामा छ । अस्पताल निर्माण भएपछि कपुरकोट गाउँपालिकासहित छिमेकी जिल्ला रोल्पाका नागरिकलाई समेत स्वास्थ्य सेवा लिन सहज हुने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस