२०८१ असोज १८ गते शुक्रवार

रोजगारीका लागि विदेश पुगेका दाङका २३ जनाको मृत्यु

दाङ, ३० चैत । वैदेशिक रोजगार सुरक्षित बन्न सकेको छैन् । स्वदेशमा रोजगारीका अवसर नपाउँदा विदेशमा गएका धेरै नेपाली युवाले अकालमै मृत्युवरण गर्नु परिरहेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा रोजगारीका लागि विदेश गएका दाङका २३ जनाको विभिन्न समयमा मृत्यु भएको छ ।

वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत विष्णु अर्यालले चालुवर्षमा मात्रै रोजगारीका लागि विदेशमा गएका दाङका २३ जनाको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार विदेशमा आफन्त गुमाएका परिवारलाई बोर्डले आर्थिक सहायता पनि प्रदान गरिरहेको छ ।

विदेशमा मृत्यु भएका आफन्तलाई बोर्डले ७ लाख सहायता प्रदान गरिरहेको छ भने बिमाबापत न्यूनतम १३ लाखसम्म आफन्तले पाउने उहाँले बताउनुभयो । बोर्डले विदेशमा मृत्यु भएकाको शव ल्याउन आवश्यक समन्वय गर्नेदेखि आर्थिक सहायता प्रदान गरिरहेको छ ।

यस्तै मृतकका छोराछोरीलाई समेत शिक्षामा आर्थिक सहायता प्रदान गरिने जानकारी दिनुभयो । श्रम स्विकृती गरेर गएका कामदारले औषधि उपचारमा सात लाखसम्म, अंगभंग भएका कामदारले अधिकतम सात लाख र परिवारले पाँच प्रकारका घातक रोग (क्यान्सर, मृगौला फेल, मुटुको रोग, पार्किन्सन्स र अल्जाइमर) अधिकतम ५० हजार रूपैयाँसम्म पाउने गरेका छन् ।

यस्तै गन्तव्य मुलुकमा कुनै समस्या परेमा कानुनी सहायताका लागि वकिल राख्नुपरेमा बोर्डले १५ लाखसम्म उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनुभयो । आप्रवासी स्रोत उपकेन्द्र तुलसीपुरका मनोविमर्शकर्ता प्रिति घर्ती मगरले आवश्यक कागजातबिनै विदेश गएकाको शव ल्याउन निकै कठिन हुने गरेको बताउनुभयो । विदेशबाट शव ल्याउनसमेत बिचौलियाले चलखेल गर्ने गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस