
दाङ, २१ चैत । नेपालमा नियमित रेल सञ्चालन भएको एक वर्षमा सरकारलाई ४२ करोड रुपैयाँ घाटा लागेको छ ।
गत वर्ष चैत २० गतेदेखि भारतको जयनगरदेखि नेपालको कुर्थासम्म नियमित रेल सञ्चालन हुँदै आएको छ । रेल्वे कम्पनीका अनुसार अहिले दिनमा दुई पटक आवत जावत गरिरहेको रेल सेवाबाट दैनिक २ लाख ५ हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।
एक वर्षमा आठ करोड आम्दानी हुँदा खर्च भने ५० करोड रुपयाँ भएको कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीका कार्यरत कर्मचारीदेखि रेलको मर्मत सम्भार सबै भारतमै हुने भएकाले खर्च बढेको हो ।
कम्पनीमा हाल २६ जना भारतीय कर्मचारी रहेका उहाँले जानकारी दिनुभयो । नेपाली जनशक्ति नहुँदा भारतका कर्मचारीलाई मासिक १८ लाख रुपयाँ तलब दिनुपर्ने महाप्रबन्धक झाको भनाइ छ ।
प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार