
दाङ, ४, चैत । सरकारले दिने अनुदान रकम घटाएर बजार मूल्य बढाउने निणर्य गरेसँगै बजारमा रासायनिक मलको भाउ बृद्धि भएको छ । मलको कारोबार गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मलको भाउ बढेको जनाएका छन् ।
दुबै कार्यालयले निर्धारण गरेको भाउ घोराहीमा एकरुपता भए पनि लमही र तुलसीपुर क्षेत्रमा फरक-फरक रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले घोराही, लमही र तुलसीपुरमा रासायनिक मलको भाउ छुट्टा-छुट्टै तय गरेको छ ।
५० किलोको बोरामा पाँ‘च सय ५० रुपैयाँ बढ्दै अब युरिया मल घोराहीमा एक हजार चार सय आठ रुपैयाँ पर्ने भएको छ । यस्तै लमहीमा एक हजार तीन सय ९२ रुपैयॉँ र तुलसीपुरमा एक हजार चार सय १८ रुपैयाँ पुगेको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका प्रमुख टोपाराम गौतमले जानकारी दिनुभयो ।
इन्ट्री प्वाइन्टबाट शाखा कार्यालयसम्मको ढुवानी साविककै कायम भएमा युरियामा ५० किलोको प्रतिबोरा पाँच सय ५० रुपैयाँ, डिएपीमा तीन सय ५० रुपैयाँ प्रतिबोरा र पोटासमा चार सय रुपैयाँ प्रतिबोरा बढ्ने उहाँले जानकारी दिनुभयो ।
भैरहवा इन्ट्री प्वाइन्टबाट लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेश शाखा कार्यालयमा मल पठाइन्छ । सरकारले युरिया किलोमा २५, डिएपीमा ५० र पोटासमा ४० रुपैयाँले बढाएको थियो ।
सरकारले दिने अनुदान रकम घटाएर बजार मूल्य बढाउने निणर्य गर्नु अगाडि नेपाल सरकारले पाँच हजार पाँच सय ९० रुपैयाँमा किनेको एक बोरा युरीया सात सय ५० रुपैयाँमा दिदै आएको थियो ।
भैरहवाबाट दाङको ढुवानी जोड्दा दाङको लमहीमा युरियाको मूल्य प्रतिबोरा आठ सय ४२ रुपैयाँ, घोराहीमा आठ सय ५८ र तुलसीपुरमा आठ सय ६८ रुपैयाँसम्ममा सहकारीले पाएका थिए । कृषि सामग्री कम्पनी लिमिटेडबाट मात्रै २६ करोड ४० लाख ६९ हजार सात सय ९२ रुपैयाँ मलमा किसानले अनुदान पाएका थिए ।
कृषि सामग्री कम्पनी लिमिटेड घोराहीका अनुसार बढेको मूल्यमा पुरानै भाडा कायम भएमा डिएपीलाई घोराहीमा प्रतिबोरा दुई हजार छ सय ५८ रुपैयाँ, लमहीमा दुई हजार छ सय ४२ रुपैयाँ र तुलसीपुरमा दुई हजार छ सय ६८ रुपैयाँ पर्नेछ ।
त्यसैगरी बोरामा चार सय रुपैयाँले पोटास बढ्दा घोराहीमा त्यसको मूल्य दुई हजार एक सय आठ, लमहीमा दुई हजार ९२ र तुलसीपुरमा दुई हजार एक सय १८ रुपैयाँ पर्नेछ । २०७९ साउन २९ गते कृषि सामग्री कम्पनी लिमिटेडको बोर्ड बैठकले पहिलेको मूल्यमा प्रतिबोरा ३७ रुपैयाँले बढाएर भाडा समायोजन गरेको थियो ।
भाडा समायोजनपछि भैरहवाको मूल्य भन्दा दाङको घोराहीमा मल प्रतिकेजी दुई रुपैयाँ १६ पैसा, लमहीमा एक रुपैयाँ ८४ पैसा र तुलसीपुरमा दुई रुपैयाँ ३६ पैसा बढी छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भने युरिया र डिएपीको घोराहीको मूल्य भन्दा तुलसीपुर क्षेत्रमा पाँच रुपैयाँ बढी र लमहीमा पाँच रुपैयाँ कम लिने जनाएको छ । ढुवानीको रकममा तलमाथि परेका कारण पाँच रुपैयाँको अन्तर भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिनुभयो ।