२०८१ माघ ६ गते आइतवार

कोइलाबास भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन

दाङ- लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न चुनौती भइराखेको बेला दाङको एकमात्र भन्सार नाका कोइलाबासले वार्षिक लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन गरेको जनाएको हो ।

कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ राजस्व उठाउने लक्ष्य लिएको थियो । कार्यालयले फागुन २५ गतेसम्म ५२ लाख ४६ हजार ४ सय ७ रूपैयाँ राजस्व सङ्कलन गरेको कोइलाबास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले बताउनुभयो । आर्थिक वर्ष सकिन अझै ४ महिना बाँकी रहेकाले राजस्व थप बढ्नेछ ।

कार्यालयले साउन महिनामा ३ लाख ७९ हजार २ सय ७ रूपैयाँ, भदौ महिनामा ५ लाख ९० हजार १ सय ९१ रूपैयाँ, असोज महिनामा ३ लाख ७० हजार ७ सय, कार्तिक महिनामा ६ लाख ३२ हजार २ सय ५४ रूपैयाँ राजस्व सङ्कलन गरेको छ । मंसिर महिनामा ४ लाख ७३ हजार ८ सय ५९ रूपैयाँ, पुस महिनामा १ लाख ६ हजार ९ सय ५० रूपैयाँ, माघ महिनामा ६ लाख ६७ हजार १ सय ६८ रूपैयाँ र फागुन १ देखि २५ गतेसम्म ६ लाख ४ सय ७ रूपैयाँ राजस्व सङ्कलन भएको प्रमुख शर्माले बताउनुभयो ।

कोइलाबास नाका सञ्चालनमा आएपछि राजस्व समेत वृद्धि हुँदै गएको हो । नाका खुलेपछि सामग्री आयात, निर्यात तथा नागरिक एवम् सवारी साधनको आवतजावत गर्न थालेपछि राजस्व वृद्धि भएको हो । नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारी साधनबाट लिने राजस्व धेरै रहेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

दाङको एक मात्र नाकामा रहेको कोइलाबास भन्सार कार्यालयमा अनलाइन गर्ने तयारी गरिए पनि यसले सार्थकता पाउनसकेको छैन । जसले गर्दा अहिले भन्सार कार्यालयले लिखित रूपमै काम हुँदै आएकोे छ । नेटको समस्याका कारण अनलाइनबाट काम गर्न नसकेको कोइलाबास भन्सार कार्यालयका प्रमुख शर्माले बताउनुभयो ॥

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस