२०८१ असोज ४ गते शुक्रवार

न्यायको मागसहित राप्ती राजमार्ग बन्द

सल्यान, २७ फागुन । बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनामा न्याय नपाएको भन्दै सल्यानको शंकमुलमा राप्ती राजमार्ग अवरोध गरिएको छ ।

राप्ती राजमार्गअन्तर्गत सल्यानको छत्रेश्वरी गाउँपालिका-६ शंखमुलमा बसले बिहीबार दिउँसो साढे ४ बजेतिर मोटसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

उक्त घटनामा अहिलेसम्म प्रहरीले कुनै चासो नदेखाएको र घटनाको मुचुल्का नै तोडमोड गरेको आरोप लगाउँदै मृतकका परिवारले आज बिहानैबाट सडक बन्द गराएका छन् ।

सडकमा टायर बालेर राजमार्ग अवरोध गरेपछि सल्यान तथा रुकुमबाट दाङ जाने आउने सवारी साधन अहिले सडकमै रोकिएका छन् ।

उता इलाका प्रहरी कार्यालय लुहामले भने घटनाको मुचुल्का कुनै तोडमोड नगरिएको र त्यस्तो गर्न सम्भव पनि नहुने बताएको छ । अहिले घटनास्थलमा जान लागेको र पिडितहरुको कुरा बुझ्न लागेको प्रहरीले जनाएको छ ।

श्रीनगरदेखि काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक छत्रेश्वरी गाउँपालिका-३ झिम्पे पालेखोला घर भएका वर्ष १९ का अजय ओलीको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस