२०८१ असोज ४ गते शुक्रवार

स्वास्थ्य बीमा गर्ने बढेनन्, चार वर्षमा करिब ३३ हजार नागरिकमात्रै बिमित

दाङ, २४ फागुन । दाङमा चार बर्षको अबधिमा करिब ३३ हजार नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । आर्थिक अभावका कारण समस्या परेका कुनै पनि नागरिक उपचार गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्ष बघिदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

तर बीमा गर्नेहरूको सङ्ख्या उल्लेख्यरुपमा बढ्न सकेको छैन । दाङका दश वटै पालिकामा ३२ हजार आठ सय नागरिकले बीमा गरेको स्वास्थ्य बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा बीमा गर्नेमा पुरुष भन्दा महिला धेरै रहेका छन् । जसमा १६ हजार ९३३ महिला र १५ हजार ८६७ जना पुरुष रहेका छन् । सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाका १५ हजार ५९१ जना बीमित रहेका छन् ।

उहाँका अनुसार बीमितमध्ये सामान्य परिवार १७ हजार ८३३, ज्येष्ठ नागरिक १० हजार २३६, अति अशक्त एक हजार ३५२, महिला स्वास्थ्य स्वयंसेविका एक हजार १९१, एचआईभी सङ्क्रमित २२८, एमडीआर टीभी १० र लेप्रोसी रोगका चार जना बिमित रहेका छन् ।

आर्थिक अभावका कारण समस्यामा परेका बिरामीलाई स्वास्थ्य सेवामा पहुँच पु-याउने उद्देश्यले सो कार्यक्रम लागू भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको उहाँले बताउनुभयो ॥

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस