२०८२ बैशाख १७ गते बुधवार

सल्यानमा छैन ब्लड बैंक : सुत्केरी र दुर्घटनामा घाईते भएकाको उपचारमा समस्या

सल्यान, १८ फागुन । देशभर एक सयभन्दा बढी ब्लड बैंक सञ्चालनमा छन् । तर कतिपय जिल्लामा भने अझै ब्लड बैंक छैन ।

रुकुम, रोल्पालगायत जिल्लाबाट पनि विरामी उपचारका गर्न पुग्ने सल्यानमा पनि ब्लड बैंक नहुँदा बिरामी र आफन्तलाई समस्या हुने गरेको छ ।

जसका कारण डाक्टरले बिरामीको शल्यक्रिया र उपचारको तयारी थाल्दै गर्दा बिरामीका आफन्त भने रक्तदाताको खोजिमा भौतारिन थाल्छन् ।

एउटा जिल्ला अस्पताल, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र, ४५ वटा स्वास्थ्य चौकी रहेको सल्यानमा एउटा पनि ब्लड बैंक छैन ।

रक्तदाताको अभाव नभए पनि रगत जम्मा गर्ने बैंक नहुँदा चाहिएको बेला रगत पाउन धौ धौ हुन्छ । मासिक १ सय ५० भन्दा बढी सुत्केरी गराइने जिल्ला अस्पतालमा औषतमा १० जनालाई शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्छ ।

उनीहरुलाई मात्र होइन दुर्घटनाका घाइतेको उपचारमा पनि रगत चाहिन्छ । अस्पतालका डा. अभिषेक सिंह समयमै रगतको जोहो नहुँदा बिरामीको स्वास्थ्य नै खतरामा पर्ने बताउनुहुन्छ । सल्यानमा ब्लड ब्याङ्क खोल्न प्रयास नगरिएको पनि होइन । ब्लड ब्याङ्कका लागि नेपाल रेडक्रस सोसाइटीमार्फत तीन कोठे भवन तयार पारेको तीन वर्ष भइसकेको छ ।

तर, जनशक्ति र उपकरण नहुँदा सञ्चालन हुन नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठको भनाइ छ । आवश्यक जनशक्ति र उपकरणको प्रवन्ध गरेर ब्लड बैंक सञ्चालन गरिए बिरामी र उनीहरुका आफन्तले रगतको जोहो गर्ने सास्ती खेप्नुपर्ने थिएन ।

प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस