२०८१ कार्तिक ३० गते शुक्रवार

सगरमाथामा बालबालिकाको आँखा जाँच

दाङ १३ , फाल्गुन । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङ्लिस स्कुलले शुक्रबार विद्यालयमा विद्यार्थीका आँखा जाँच कार्यक्रम गरेको छ । राप्ती आँखा अस्पताल तुलसीपुर दाङको प्राविधिक सहयोगमा आँखा जाँच कार्यक्रम भएको हो ।

विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा २८० भन्दा बढि विद्यार्थीहरूको आँखा जाँच गरीएको प्रधानाध्यापक वलीले वताउनुभयो। कार्यक्रममा नेत्र सहायक बालिका सेरपाइलीले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गरेर विद्यालयले आयोजना गरेको आँखा जाँच कार्य सराहनीय भएको बताउनुभयो ।

उहाँले आँखा कम्जोर हुनबाट बचाउनको लागि विद्यार्थीहरूलाई खानपिनमा ख्याल गर्न अभिभावकलाइृ आग्रह गर्नुभयो । उहाँले प्रशस्त मात्रामा हरियो सागपात, गेडागुडी, फलफूल र भिटामिन ‘सि’ प्राप्त हुने खाने कुराहरू खान समेत आग्रह गर्नुभयो ।

यस्तै पत्रकार गोपाल शर्मा भट्टराईले विद्यालयमा नयाँ नेतृत्व पश्चात विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको भन्दै जसले गर्दा विद्यार्थीहरूको व्यक्तित्व, नेतृत्व विकास र स्वास्थ्यमा उल्लेखनीय टेवा पुग्ने बताउनुभयो । उहाँले विद्यालयले पढाइलाई मात्र नभएर विभिन्न गतिविधिहरूलाई प्राथमिकतामा राखेको विभिन्न सामाजिक सञ्जालमा देख्दा धेरै खुशी लागेको पनि बताउनुभयो ।

यसैगरी विद्यालयले पढाईलाई मात्र नभइ विद्यार्थीहरूलाई अन्य कुराहरूमा पनि अब्बल बनाउनको लागि विभिन्न गतिविधिहरू गर्दै आएको विद्यालयका प्रअ वलीले बताउनुभयो । ‘हामीले पढाईलाई मात्र ध्यान दिएका छैनौँ । विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापहरू पनि गराउँदै आएका छौँ ।’ उहाँले भन्नुभयो–‘जसले गर्दा उनीहरूलाई शारीरिक तथा मानसिक रुपमा मात्र नभइ समाजमा पृथक र अब्बल गराउन महत्वपूर्ण भूमिका हुन्छ ।’

कार्यक्रममा दृष्टिदोष देखिएका ७ जना विद्यार्थीहरूलाई निःशुल्क चश्मा विद्यालयले उपलब्ध गराउने छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस