२०८१ मङ्सिर २३ गते आइतवार

हात्तीपाईले रोग बिरुद्धको औषधि नखानेलाई वडाको सेवाबाट बञ्चित गरिने

दाङ, ५ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा सेवा लिने सेवाग्राहीले हात्तीपाईले रोग बिरुद्धको औषधी सेवन गरेको प्रमाणित हुने कार्डको आधारमा मात्र सेवा पाउने भएका छन् ।

वडामा हात्तीपाईले संक्रमितको संख्या डरलाग्दो रहेको पाईएकोले वडाबासीलाई पूणर्रुपमा औषधी खुवाउन यस्तो निती लिने भएको हो । वडामा हरेक दुईसयमा परिक्षण गर्दा १५ जनामा संक्रमण रहेको पाईएको टरिगाउँ स्वास्थ्य चौकीका प्रमुख बिना केसीले जानकारी दिनुभयो ।

देशभर औषधी खुवाउने अभियान बारम्बार चलाएपनि केहि संख्याका नागरिकले सेवन गर्न आनाकानी गर्ने बानीले अन्य नागरिकलाई चुनौती बनाएको उहाँले बताउनुभयो ।

सरकारले १३औँ पटक औषधी सेवन अभियान सञ्चालन गरेपनि केहि मानिसले मात्रपनि औषधी सेवन गर्न ब्यवास्ता गर्नुको कारण फेरि १४औँ पटक अभियान सञ्चालन गर्नुपर्ने भएको उहाँले बताउनुभयो ।

हाम्रै सानो लापरबाहीले हामीलाई हात्तीपाईले रोगबिरुद्धको औषधी सेवन अभियान लम्ब्याउनु परिरहेको उहाँले बताउनुभयो । अभियानलाई सार्थक बनाउन टरिगाउँ स्वास्थ्य चौकी र वडा कार्यालयको समन्वयमा यस्तो अभियान सञ्चालन हुने भएको हो ।

त्यसका लागि आज उपमहानगरको जनस्वास्थ्य प्रबद्र्धन शाखा अन्तर्गत टरिगाउँ स्वास्थ्य चौकीको आयोजनामा भएको आम औषधी सेवन अभियान २०७९ अन्तर्गत समुदाय स्तरिय वहुनिकाय अभिमुखिकरण गोष्ठिका अवसरमा बोल्ने वक्ताले यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरुले अन्य एकजनाको कारणले समुदायका अन्य ब्यक्तिलाई समेत जोखिम बढेको भन्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

जसका लागि आउँदा ११ गतेदेखि १५ गतेसम्म बिभिन्न स्थानमा पुगेर केन्द्रमार्फत खुवाईने र त्यसपछि स्वास्थ्यकर्मी, बिभिन्न टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधीको सहभागितामा १४औँ आयोजना हुन लागेको हो ।

वडा नम्बर १० का कार्यबहाक वडा अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रम भएको हो । त्यस अबसरमा बिभिन्न टोल विकास संस्थाका प्रतिनिधी, पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण टरिगाउँ स्वास्थ्य चौकीका ईन्चार्ज केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस