२०८१ फाल्गुन ३ गते शनिवार

हेलिकप्टरबाट राष्ट्रपति भण्डारी आज दाङ आउँदै

दाङ, ३ फागुन ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ आउने हुनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उहाँ दाङ आउन लाग्नु भएको हो ।

नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले बुधबार आज राष्ट्रपति भण्डारी आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्न दाङ आउन लागेको जानकारी दिनुभयो । राष्ट्रपति भण्डारी आज बिहान ११ बजेतिर हेलिकप्टरमार्फत विश्वविद्यालय प्रांगणमा अवतरण गर्ने कार्यक्रम छ ।

रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो ।

नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बताउनुभयो ।

तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको थियो ।

महामारीको प्रभाव कम भएपछि भवनलाई पूणर्रुपमा शिक्षणमा उपयोग गरिएको छ । राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै संस्कृत वाङ्मयका गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जानकारी गराउने प्रयास गरिरहेको कुलसचिव अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस