दाङ, २४ माघ । दाङमा यातायात मजदुरहरुले आन्दोलन गर्ने बारे सामुहिक एक्यवद्धता जनाएका छन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संगठनले विभिन्न माग राख्दै सरकारको ध्यानाकर्षण गराए पनि माग पुरा नभएको भन्दै चरणबद्ध आन्दोलन प्रति जिल्लाका मजदुरले एक्यवद्धता जनाएका छन् ।
जिल्लाका तिन वटै यातायात मजदुर संघसंगठनले मंगलबार तुलसीपुरमा आयोजना गरेको बैठकमा आफुहरुको माग पुरा नभए देशब्यापि रूपमा आन्दोलन गर्ने तयारी भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपमहासचिव खगेन्द्र ओलिले जानकारि दिनु भयो ।
सरकारले जारि गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ पूर्णरूपमा कार्यन्वयन हुनुपर्ने ,सवारी ऐन कानुन झन्झटिलो भएकोले सच्याउनु पर्ने,सवारी तथा चालकको कागजात चेकजाँच गर्ने नाममा अनावश्यक जरिवाना तथा दु:ख दिने,ट्राफिक नियमको नाममा चालक तथा सहचालकलाई सास्ति दिने जस्ता गतिविधि पछिल्लो समय अत्यधिक हुनेगरेको भन्दै यसको अन्त्यको माग राख्दै तिन वटै संघसंगठनले आन्दोलन अगाडी बढाएका छन
देशव्यापी कार्यक्रम अन्तर्गत दाङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष दिपक कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
यातायात श्रमिकलाई सडकमा बिना कारण सास्ती दिने गरिएको, यातायात क्षेत्र सुधारका लागि आयोग गठन गर्नुपर्ने मागसहित आन्दोलित हुन थालेको उहाँले बताउनुभयो । कार्यक्रम अनुसार दाङमा यहि माघ २६ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने , २८ गते देखि घोराही ,लमहि,भालुबाङमा कोण सभा गर्ने र फागुन ३ गते सडक आन्दोलन गर्ने कार्यक्रम रहेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी प्रदेश उपाध्यक्ष केशबबहादुर भण्डारीले यातायात मजदुरका मागप्रति राज्यले ब्यवास्ता गरेका कारण आन्दोलित हुनुपरेको बताउनुभयो । ‘चालकका लाइसेन्स प्वाल पारिएपछि रोजीरोटी खोसिएको छ, बेरोजगार उत्पादन गर्ने अधिकार सरकारलाई छैन् ।’ उहाँले भन्नुभयो-‘मजदुरको कुरालाई राज्यले पनि ध्यान दिनुपर्छ ।’
बैठकमा सहभागी यातायात व्यवसायीले यातायात श्रमिकले उठाएका उचित मागप्रति व्यवसायीको साथ रहेने प्रतिवद्धता जनाएका छन् ।सो अबसरमा अखिल नेपाल यातायात मजदुर संगठनका जिल्ला अध्यक्ष छबि बस्नेत,नेपाल यातायात मजदुर संघ ईकाई अध्यक्ष सुबर्णराज भण्डारी ,त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका कार्यालय सचिव प्रकाश भट्ट, अम्बिकेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेत, राप्ती यातायात सेवा प्रालिका अध्यक्ष बिनोद शर्मा, नेपाल राष्ट्रिय यातायात महासंघका केन्द्रिय सदस्य चिन्तामणी आचार्य लगायतले श्रमिकले राखेका माग सम्बोधनका लागि सरकार गम्भिर बन्नुपर्ने बताउनुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका जिल्ला अध्यक्ष दिपक कुमार बुढाथोकीको अध्यक्षता भएको बैठकको सहजीकरण सचिब खिमराज डागिले गर्नु भएको थियो । साथै बैठकले यातायात मजदुर ,ब्याबसायि,ट्राफिक लगाएत सरोकारवालाहरुसंग बृहत अन्तरकृया कार्यक्रमको मिति तय गरि सन्चालन गर्ने निर्णय गरेको छ ।