
दाङ, २० माघ ।
सवारी दुर्घटनामा न्यूनिकरणका थुप्रै प्रयास भएपनि दुर्घटना कम हुन सकेको छैन् ।
साढे साढे १ वर्षको अवधिमा दाङमा १२० जनाको मृत्यु भएको छ । चालुवर्षको साढे ६ महिनाको अवधिमा दाङमा सवारी दुर्घटनाबाट २५ जनाको मृत्यु भएको छ भने ४८ जना गम्भिर घाइते भएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि माघको १८ गतेसम्म साढे छ महिनामा जिल्लामा ६५ सवारी दुर्घटनामा २५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका वरिष्ठ प्रहरी हवल्दार काशीनाथ चौधरीले जानकारी दिनुभयो ।
यस अवधिमा भएको दुर्घटनामा परी ४८ जना गम्भीर घाइते भएका छन् । जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल ४१ वटा रहेका छन् ।
यस्तै बस सात, ट्र्याक्टर सात जीप तथा कार चार रहेका छन् । त्यस्तै टेम्पो तथा अटोरिक्सा सात, ट्रक चार, टिपर दुई, माइक्रोबस चार, साइकल पाँच, डोजर एक वटा अन्य रहेका छन् ।
गएको आर्थिक वर्ष २०७८/८९ मा दाङमा दुई सय तीन वटा सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भएको छ । तीव्र गति, मादक पदार्थ सेवनगरी गाडी चलाउँदा चालकको लापरबाही, यात्रु गल्ती, सडकको अवस्था, यान्त्रिक गढबढी लगायतका कारण दुर्घटना हुने गरेको छ । यसैबिच आगामी दिनमा सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले नागरिकसँग समन्वय गरी दुर्घटना न्यूनीकरण गर्ने अभियान थालेको छ ।