दाङ, १३ माघ । निर्माण व्यवसायीको चरम लापरबाहीले दाङका दुई स्थानमा निर्माणाधीन अवस्थामा रहेका पुलहरू अलपत्र परेका छन् ।
घोराही उपमहानगरपालिका-१७ अन्तर्गत गैरागाउँ घनिबगिया सडक खण्डको कुटवाखोला पुल र तुलसीपुर उपमहानगरपालिका वडा नम्बबर १७ को बघौसी र घोराही उपमहानगरपालिका-९ को मकुन्डाँडा जोड्ने पक्की पुल अलपत्र परेका हुन् ।
डेढ वर्षको अवधिमा पुल निर्माण सक्ने गरी २०७८ असार १४ गते कटुवा खोला पुल करिब ४ करोड १७ लाख २४ हजार रूपैयाँ र सोही मितिमा हापुर खोला पुल ८ करोड ३६ लाख ८३ हजार रूपैयाँमा निर्माण गर्ने महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौंसँग सम्झौता भएको थियो ।
गत पुस १३ गते सम्झौता समय सकिएपनि पुलको अहिले पाइलिङ फाउण्डेशनको करिब २५ प्रतिशत मात्रै काम भएको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इन्जिनियर मनिष अर्यालले बताउनुभएको छ ।
पुल निर्माणका लागि सन्तोषजनक काम नभएको र समय थप गर्दा पनि पुल निर्माण हुने अवस्था नदेखिएकाले निर्माण व्यवसायीलाई जरिवानाका लागि सम्झौता सकिएको मितिले २०० दिनको गणना सुरु भएको प्रमुख अर्यालले बताउनुभयो ।
कटुवा खोला र हापुर खोला पुल निर्माणको काम महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौंले संयुक्त रूपमा गर्ने गरी जलजल निर्माण सेवाले सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पुल निर्माणको काम अघि नबढ्दा सेवाग्राहीसँगै कार्यालय समेत कार्यसम्पादनमा पछि परेको कार्यालयले जनाएको छ ।
पुल निर्माणको काम सुरु भएपनि अहिले निर्माण कम्पनी नै पुल निर्माण गर्ने ठाउँमा नहुँदा पुल बन्ने वा नबन्नेमा आशंका उत्पन्न भएको घोराही उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष रामलौटन चौधरीले बताउनुभएको छ । वडाध्यक्ष चौधरीले असार महिनादेखि पुल निर्माण स्थलमै ठेकेदार नभएको बताउनुभयो ।