२०८१ असोज १८ गते शुक्रवार

पाल्पामा बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत


पाल्पा, २२ पुस ।
पाल्पामा गएराति बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ को खुसार्ने गाउँका महिला हुन् ।

मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा गएराति साढे ९ बजेतिर दुर्घटना भएको थियो ।

ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । सालझण्डी-ढोरपाटन सडक खण्डमा भएको उक्त दुर्घटना बसको स्टेयरिङ वा ब्रेक फेल भएर भएको हुन सक्ने अनुमान गरिएको वडाध्यक्ष रानाले बताउनुभयो ।

दुर्घटनापछि बसका धनी र सहचालक फरार छन् । मृतकमध्ये तीन जनाको शव बसले च्यापेकाले शुक्रबार बिहान मात्र निकालेर पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस