२०८१ जेष्ठ ८ गते मङ्गलवार

नेपालगञ्जमा दादुराको प्रकोप : एक बालकको मृत्यु, २५ जनालाई दादुरा पुष्टि

बाँके, २१ पुस ।
दादुराका कारण नेपालगञ्जमा एक बालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका – ५ का दुई वर्ष सात महिनाको बालकको दादुराको कारण मृत्यु भएको छ ।

एक हप्तादेखि बिरामी रहेका बालकको बुधबार मृत्यु भएको हो । नेपालगञ्जमा केही दिनदेखि दादुरा महामारीको रुपमा देखा परेको छ । बुधबार मात्रै पाँच वर्ष मुनिका आठ जनामा दादुरा देखिएको छ ।

नेपालगञ्जका आधा दर्जन वडामा दादुराको बिरामी देखा परेका छन् । ५, ७, ८, १०, १५, २२ नम्बरमा दादुराका बिरामी देखा परेका छन् । यी वडाहरुमा कम्तीमा २५ जनालाई दादुरा पुष्टि भइसकेको छ । लक्षण चिन्ह देखिएका धेरै छन् ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्दले विशेषज्ञहरुको टीम टोलटोलमा पुगेर जनचेतना फैलाउने, बिरामीलाई अस्पताल लैजाने आग्रह गर्ने, दादुरा तुरुन्तै सर्ने भएकाले छुट्टै ठाउँमा राख्न आग्रह गर्ने, अभिलेख लिने र छिट्टै खोपको अभियान चलाउने तयारी गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले दादुरा देखिएका वडाका १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन तयारी गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस