दाङ, २१ पुस । केही दिन यता दाङ लगायत लुम्बिनी प्रदेशका तराईका जिल्लामा बिहान बाक्लो हुस्सु लाग्न थालेको छ । अन्य समयभन्दा तुलनात्मक रुपमा दिउँसोमा घाम मधुरो भएको छ ।
यसले चिसो ह्वात्तै बढेको छ । पुसको मध्यसँगै भएपछि जाडो बढेको हो ।अहिले पहाडमा कुहिरो र तराईका जिल्लामा हुस्सु लाग्न थालेको छ । चिसो बढेपछि सर्वसाधरणका दैनिक कामकाज प्रभावित हुन्छन् ।
यससँगै विभिन्न रोगको जोखिम बढ्ने गरेको छ । चिसोका बेला रुघाखोकी र स्वासप्रश्वासका बिरामी बढ्छन् । अर्कोतर्फ दीर्घरोगीलाई समस्या हुने गरेको छ ।
चिकित्सकका अनुसार अहिले श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । अहिले जिल्लाका अस्पतालमा चिसोका कारण विभिन्न समस्या देखिएका बिरामी आउन थालेका छन् ।
बिरामीको संख्या बढेपछि चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । जनरल फिजिसियन डा. पदम अधिकारीले अधिकांशमा श्वासप्रश्वासको समस्या पाइएको बताउनुभयो ।
उहाँका अनुसार अस्पतालमा आउने एक सय बिरामीमध्ये ६० प्रतिशतमा श्वासप्रश्वास, रुघाखोकी र फोक्सोको समस्या देखिने गरेको छ । चिसो ह्वात्तै बढेकाले मर्निङवाक गर्ने वृद्धवृद्धा साथै बालबालिकालाई घाम लागेपछि हिंड्न, न्याना लुगा लगाउन, तातो खानेकुरा खान उहाँले अनुरोध गर्नुभयो ।
जाडो याममा अन्य रोगका बिरामीभन्दा दम, ज्वरो, खोकीका अधिकांश बिरामी आउने र भर्ना भइ उपचार गर्नुपर्ने स्थितिका समेत रहने गरेको उहाँले बताउनुभयो ।
प्रदेशको राजधानी दाङसहित पश्चिम नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया लगायतका जिल्लाहरुमा पनि चिसोका विरामी बढ्न थालेका छन् । चिकित्सकहरुले सावधानी अपनाउन अनुरोध गरेका छन् ।