दाङ, १७ पुस । लुम्बिनी प्रदेशसभा सदस्यहरुले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा आइतबार प्रदेशसभाका प्रदेश प्रमुख अमिक शेरचनले सबै प्रदेशसभा सदस्यहरुलाई शपथ गराउनु हुनेछ ।
प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था छ । तर, लुम्बिनीमा भने प्रदेश प्रमुखले नै सदस्यहरुलाई शपथ खुवाउने गरेका छन् ।
लुम्बिनी प्रदेश सभामा यस पटक १० दलका प्रदेश सभा सदस्य रहेका छन् ।
८७ सदस्यीय प्रदेश सभामा नेकपा (एमाले) बाट २९, नेपाली कांग्रेसबाट २७, नेकपा (माओवादी केन्द्र) बाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा, जनमत पार्टी र स्वतन्त्रबाट ३/३ जना तथा नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद रहेका छन् ।