दाङ, १६ पुस । तराई–मधेसमा बढ्दै गएको चिसोले जनजीवन प्रभावित बनेको छ । दुई/तीन दिनदेखि घाम लागेको छैन ।
निरन्तर बाक्लो हुस्सु कुहिरो लागेर चिसो स्याँठ चलेकाले कठ्याङ्ग्रिँदाे चिसो भइरहेको छ । तापक्रम दिनदिनै घट्न थालेपछि विशेषगरी बालबालिका, वृद्धवृद्धा, दमका रोगी र दीर्घरोगी तथा अल्पसङ्ख्यक समुदाय प्रभावित भएका छन् ।
दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरु पनि समस्यामा परेका छन् । मानिसहरु घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसोले मुसहर, डोम, चमारलगायत दलित र अति विपन्न परिवार बढी प्रभावित बनेका छन् । उनीहरु न्यानो कपडा अभावमा चिसोमा रात काट्न बाध्य छन् ।
चिसोले नागरिक प्रभावित भए पनि स्थानीय सरकारले पूर्वतयारी र राहतको व्यवस्था गर्न सकेका छैनन् । चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन् ।
दाङमा पनि दिनप्रतिदिन तापक्रम घट्दो क्रममा छ । बुधबार दाङको न्युनतम तापक्रम ५ डिग्रि सेल्सीयसमा झरेको छ । बुधबार मापन गरिएको न्युनतम तापक्रम यो वर्षकै कम हो ।
पछिल्लो समय तापक्रम निरन्तर घट्दो क्रममा रहेको जल तथा मौसम फिल्ड कार्यालय घोराहीले जनाएको छ । सोमबारदेखि दाङको न्युनतम तापक्रम घट्दो रहेको छ । सोमबार दाङको न्युनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सीयस मापन गरिएकोमा मंगलबार घटेर ६ डिग्रि सेल्सीयसमा पुगेको थियो ।
बुधबार पनि घटेर ५ डिग्री सेल्सीयसमा पुगेको तापक्रम बिहिबार भने बढेर ७ दशमलव २ डिग्रीमा पुगेको हो । यस्तै शुक्रबारको न्युनतम तापक्रम ६ दशमलव १ मापन गरिएको छ । तापक्रम घट्दै गएपछि चिसो हुन थालेको हो । पुसको मध्यतिर आउँदा चिसोको कारण जनजीवन प्रभावित हुन थालेको छ ।
चिसोले विषेशगरी दैनिक जीवनयापनमा कठिनाई हुन थालेको छ । बढ्दै गएको चिसोका कारण बालबालिका र जेष्ठ नागरिकहरु बढी समस्यामा पर्ने गरेका छन् । चिसोका कारण उनीहरु बिरामी पर्न थालेका हुन् । स-साना बालबालिकाहरु एकाबिहानै चिसोमा कठ्यांग्रिदै विद्यालय जान बाध्य भईरहेका छन् ।
चिसो बढेपनि दाङमा सरकारी तथा संस्थागत विद्यालय निर्वाध रुपमा सञ्चालन भईरहेका छन् । कतिपय बालबालिकाहरु कक्षा कोठामै बिरामी पर्न थालेपछि समस्या भईरहेको विद्यालयले जनाएका छन् । विद्यालयले जाडो बिदा गर्ने सम्बन्धमा अहिलेसम्म निणर्य गरेका छैनन् ।
चिसो बढेपछि जेष्ठ नागरिक तथा बालबालिका अस्पताल पुग्नेको संख्या बढ्न थालेको छ । सरकारी तथा नीजि अस्पतालमा चिसोका कारण बिरामी भएर उपचार गर्न जाने बिरामीको संख्या बढ्न थालेको हो ।
चिसो बढेपछि दैनिक ज्याला मजदुरी गर्ने वर्ग बढी समस्यामा परेको छ । घरबाहिरको काम गर्ने श्रमिकलाई चिसोले समस्या गरेको हो । चिसोले दैनिकरुपमा घरबाहिर काम गर्न समस्या हुने गरेको सल्यानका श्यामला पुनले बताउनुभयो ।
चिसोमौसममा देखापर्ने प्रमुख स्वास्थ्य समस्या भनेको फ्लु, रुघाखोकी, हाइपोथर्मिया, श्वासप्रश्वास सम्बन्धी समस्या, मुटु सम्बन्धी समस्या, कार्वनमनोअक्साइड पोइजनिङ लगायतका समस्या देखा पर्ने जनरल फिजिसियन डा.सर्वेश शर्माले बताउनुभयो ।