२०८१ जेष्ठ ९ गते बुधवार

भालुवाङमा रोक्का जग्गा अब फुकुवा हुने


दाङ, १३ पुस ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनमा आएसँगै राप्ती उपत्यकामा पर्ने दाङ देउखुरीको रोक्का गरिएको जग्गा फुकुवा हुने भएको छ ।

२०७७ असोज २० गते प्रदेश राजधानी घोषणा भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक सूचना जारी गर्दै दाङका दुई र अर्घाखाँचीको एक क्षेत्रमा जग्गाको कारोबार गर्न रोक लगाएको थियो ।

मन्त्रिपरिषदको कार्यालयले मालपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि सो क्षेत्रमा जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको थियो ।

सूचनामा राप्ती गाउँपालिकाका पूरै क्षेत्र, गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा जग्गा किनबेचमा रोक लगाइएको थियो । तर अव भने जग्गा किनबेच छिटै नै खुला हुने भएको हो ।

त्यसबेला राप्ती गाउँपालिकाले पनि देउखुरीमा भइरहेको जग्गा कारोबार बन्द गर्ने निणर्य गरेको थियो । गाउँपालिकाले आफ्नो भूउपयोग नीतिमार्फतसबै क्षेत्रमा घर-घडेरीका रुपमा जग्गा विकास गर्न नमिल्ने निणर्य गरेको थियो । अव राप्ती उपत्यका देउखुरीको रोक्का जग्गा यही पुस महिना भित्रै खुल्ला हुने भएको हो ।

जग्गा एकीकरण अर्थात ल्याण्डपुलिङ्ग आयोजनामा अनिवार्य समावेश हुने शर्तमा जग्गा फुकुवा गर्न लागिएको प्रदेश पूर्वाधार विकास प्राधिकरण अन्तर्गत प्रदेश राजधानी जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरीले जानकारी दिनुभयो । राजधानी क्षेत्रको गुरुयोजना तयार भई जग्गा एकीकरण कार्यको अन्तिम प्रक्रिया बाँकी रहेकोले राजधानीबासीको माग र समस्यालाई मध्यनजर गर्दै रोक्का जग्गा फुकुवा गर्न लागिएको उहाँले बताउनुभयो ।

अध्यक्ष चौधरीका अनुसार जग्गा फुकुवा भएपछि फेरि पहिलेकै अवस्थामा नेपाल राष्ट्र बैंकको नीति अनुसार धितो मूल्याङ्कनका आधारमा बैंकहरुले निर्धक्कका साथ लगानी गर्ने तथा पूणर्रुपले किनबेच गर्न सक्ने गरी जग्गा फुकुवा गर्न लागिएको हो । तर जग्गा किनबेच गर्दा भने किन्ने व्यक्ति र बिक्री गर्ने दुवै व्यक्ति अनिवार्य रुपमा जग्गा एकीकरण आयोजनामा समावेश हुने शर्तमा मात्र किनबेच गर्न पाइने तथा बैंकमा ऋण लिंदा समेत जग्गा एकीकरणको वडा—वडामा स्थापना हुने कार्यालयबाट सिफारिस लिनुपर्ने अध्यक्ष चौधरीले बतउनुभयो ।

यता प्रदेश राजधानी जग्गा एकीकरण आयोजनाले माघ १ गतेदेखि वडा—वडामा कर्मचारी खटाउने भएको छ । जग्गा एकीकरण आयोजनालाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन र आयोजनाको कामलाई गति प्रदान गर्न इन्जिनियर सहितको टिम वडा—वडामा खटाउन लागिएको प्रदेश राजधानी जग्गा एकीकरण आयोजनाका अध्यक्ष चौधरीले बताउनुभयो ।

राजधानी क्षेत्रका १४ वटै वडाहरुमा इन्जिनियर, अमिन, अधिकृत र सवओभरसियर सहितको कर्मचारी खटाउने गरी काम थालेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस