दाङ, २० मंसिर ।
लुम्बिनी प्रदेशको अस्थायी मुकाबाट स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री र सचिवालयको फर्निचर सारिएको छ । अस्थायी मुकाम बुटवलबाट सोमबार राती मुख्यमन्त्री कार्यालय र सचिवालयको फर्निचर लगायतका सम्पूर्ण सामाग्री देउखुरी ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिनुभयो ।
तीन वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पुर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान सहितको कार्यालयका सम्पूर्ण सामाग्री बोकेर मुख्यमन्त्री सहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी आइपुगेको हो ।
सोमबार राति साढे १० बजे मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा आज बिहान झारिएको छ । आउँदो आइतबारबाट मुख्यमन्त्री कार्यालको सम्पूर्ण काम देउखुरीबाट नै हुने भएको छ ।