
दङ्गीशरण, १६ मंसिर ।
दाङमा थारु संग्राहलयमा घुम्न आउनेको संख्या बढ्दो रहेको छ । संग्रालयमा अहिले दैनिक ५०/६० जना आउने गाउँपालिकाका अध्यक्ष सम्भु गिरीले बताउनुभयो ।
पश्चिम दाङको दंगिशरण गाउँपालिका वडा नं. ३ चखौरामा रहेको छ । थारु संग्राहालय पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ ।
थारु जातिको कला संस्कृति, रितिरीवाज, परम्परा, भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली झल्काउने उद्देश्यले संग्राहलय स्थापना गरिएको प्रदेश सांसद डिल्लीबहादुर चौधरीले बताउनुभयो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले संग्राहलयको सवलीकरणका लागि ६५ लाख रुपैयाँको सहयोगबाट सांस्कृतिक संग्राहलयलाई थप व्यवस्थित गर्ने काम गरिएको नेपाली काँग्रेसका नेता समेत रहेका चौधरीले बताउनुभयो ।
संग्रहालयमा थारु जातिको कला, संस्कृति, रितिरीवाजसँगै थारु जातिका प्रथम राजा दंगिशरणको प्रतिमा समेत स्थापना गरिएको छ । थारु जातिको उद्गम स्थलका रुपमा रहेको दाङलाई थारु जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको थियोे ।
साँस्कृतिक संग्रहालयमा थारु समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारहरु राखिएको छ ।
‘संग्रहालयमा पूर्वदेखि पश्चिमसम्मका थारु जातिको पहिचान, कला संस्कृति झल्काउने मुर्तिदेखि चित्रहरु राखिएको छ । थारु जातिले जन्मदेखि मृत्युसम्मका गतिविधि र परम्परालाई अध्ययन गर्न चाहने व्यक्तिलाई समेत संग्रहालय उपयोगी रहेको छ ।
साढे चार विघा क्षेत्रफलमा फैलिएको साँस्कृतिक संग्राहलमा थारु जातिले राज्य गर्दाखेरी विभिन्न चरणहरु अवलोकन गर्न पाइने सांसद चौधरीले बताउनुभयो । संग्रहालयलाई दाङका थारु जातिको मात्र नभएर नेपालकै थारु जातिको नमूना केन्द्रका रुपमा विकास गरिने समेत उहाँको भनाई छ ।