
दाङ, १६ मङ्सिर ।
दाङमा एचआइभी एड्स संक्रमितहरुको संख्यामा कमी आएको छ । विगतका वर्षमा भन्दा पछिल्लो समय एचआइभि संक्रमित घट्न थालेको देखिएको हो । एचआइभी एड्सका कारण मृत्यु हुने तथा संक्रमितको संख्यामा कमी हुँदै गएको हो ।
दाङको घोराहीमा २ सय ३२ जना र तुलसीपुर क्षेत्रमा १ सय २९ जना एचआइपी संक्रिमित छन् । संक्रमितमध्ये अधिकांश महिला रहेका छन् भने ४ जना अन्य रहेका छन् ।
रोजगारीमा काम गर्न जानेमध्ये अधिकांशले एचआईभी लिएर फर्किनुका साथै अशिक्षा र अज्ञानता नै एचआईभीको मुख्य कारण रहेको तथ्यांकले पनि देखाउने गरेको छ । पहिचान भएका एचआईभी संक्रमितहरुलाई निगरानीमा राख्दै नियमित एआरभी सेन्टरबाट औषधी सेवन गराउनुका साथै मनोसामाजिक परामर्शको काम भईरहेको सरोकार संस्थाहरुको भनाई छ ।
जिल्लामा रहेका मानव स्वास्थ्य समाज, दाङ प्लस, रेडक्रस, परिवार नियोजन संघ, नागार्जुन डेभलपमेन्ट, परिवर्तन समुहलगायत संस्थाले एचआईभीको क्षेत्रमा काम गर्दै आएका छन् ।नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक वसन्त खनालले एचआईभी संक्रमित पहिचान गर्न तल्लो तहसम्म काम भईरहेकाले फेला पर्नेको संख्या बढ्दै बताउनुभयो ।
शंकास्पद, यौन गतिविधिमा बढी हुनेको निगरानी बढाएको हुँदा पछिल्लो समय जिल्लामा एचआईभी संक्रमित पहिचानदेखि उपचारसम्मको व्यवस्था हुने गरेको उहाँको भनाइ छ ।