
दाङ, २८ कार्तिक ।
तुलसीपुरका ८ सय ६५ जना सुत्केरी आमाले सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । बच्चा हुर्कने बेलासम्म पनि उपमहानगरपालिकाले उनीहरूलाई उक्त रकम वितरण गर्न नसकेको हो ।
उपमहानगरपालिकाले पैसा नभएकै कारण सुत्केरी भत्ता समयमा दिन नसकेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिका घाटामा हुँदा र आन्तरिक श्रोतको रकम शून्य हुँदा गतवर्षको असोज महिनादेखिको सुत्केरी पोषणभत्ता रोकिएको स्वास्थ्य केन्द्रका कर्मचारीहरू बताउँछन् ।
तुलसीपुर उपमहानगरपालिका-७ कि पार्वती बस्नेतले सुत्केरी भएको ११ महिना भत्ता पाउन नसकेक बताउनुभयो । गत वर्ष मंसिर ९ गते सुत्केरी भएकी पार्वतीले आवश्यक सबै प्रक्रिया पूरा गरिसक्दा पनि स्थानीय सरकारबाट पाउनुपर्ने सेवा अहिलेसम्म नपाएको उहाँले बताउनुभयो ।
आवश्यक प्रक्रिया पूरा गरिसकेपछि पनि तुलसीपुर उपमहानगरपालिकाले नेपाल सरकारले दिदै आएको १८ सय रूपैयाँमा ३ हजार २ सय थपेर ५ हजार दिने नीति बनाएको थियो । सुत्केरी भएको सयममा पोषणयुक्त खानाका लागि उपमहानगरले भत्ता दिने नीति लिएको छ । यो सरदर ३५ दिनभित्रमा दिने प्रावधान गरिएको छ ।
तुलसीपुर उपमहानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार आर्थिक वर्ष ०७८/८९ मा सुत्केरी पोषणभन्दा पाउनुपर्ने आमाहरूको कुल संख्या १ हजार २ सय २ रहेको थियो । जसमा ७ सय ३७ जना आमाहरूले सोही आर्थिक वर्षमा पोषणभत्ता पाइसकेका छन् ।
भने ४ सय ६५ जना आमाहरूले अझैसम्म पोषणभत्ता पाउन सकेका छैनन् । चालु आर्थिक वर्षमा ४ सयजना सुत्केरी आमाहरूले पोषणभत्ता पाउन सकेका छैनन् ।
दुई आर्थिक वर्षको गरेर ८ सय ६५ जनाले भत्ता पाउन सकेका छैनन् । त्यसका लागि २९ लाख रूपैयाँ आवश्यक पर्छ । तुलसीपुर उपमहानगर-पालिकाका नगरप्रमुख टिकाराम खड्काले नगरमा पैसा नहुँदा सुत्केरी भत्ता दिन नसकेको बताउनुभयो ।