२०८१ असोज ४ गते शुक्रवार

रोल्पाबाट तुलसीपुर आउँदै गरेको बस दुर्घटना

रोल्पा, १२ कार्तिक ।
रोल्पाबाट तुलसीपुर आउँदै गरेको बस दुर्घटनामा परेको छ । रोल्पाको रुन्टीगढीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस शनिबार (आज) बिहान पानीगैरामा पल्टीदा ८ जना घाइते भएका छन् ।

दुर्घटनामा परी दुई जना गम्भीर घाइते छन् भने अन्य ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१८ का ४५ वर्षीय कलिराम परियार र उहाँकी छोरी ४ वर्षीया अञ्जना परियार रहेका छन् ।

दुर्घटनामा परी गम्भीर अवस्थाका घाइतेलाई प्रहरीको सहयोगमा थप उपचारका लागि दाङको तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ । तर सडक अवरुद्ध हुने गरी पल्टेको बस उठाउनेबारे योजना बनाइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताउनुभयो ।

यस्तै मध्यम खालका घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१९ का ४५ वर्षीय गाडी मालिक चूर्ण थापा (दाहिने हातमा चोट), रोल्पा रुन्टिगढी–८ का २९ वर्षीया गौसरा पुन (खुट्टामा चोट), सोहि गाउँकै १५ वर्षीया भावना परियार (कम्मरमा चोट), ३६ वर्षीया मनकुमारी दमाई (हात र कम्मरमा चोट), ७ वर्षीया सन्जु परियार (हातमा चोट) र ६ वर्षीया गीता पुन (आँखामा चोट) छन् ।

प्रहरीका अनुसार बस रुन्टीगढी गाउँपालिका–८ को भित्रि सडक खण्डमा पर्ने मेलटाकुरादेखि दाङ तुलसीपुर जाँदै थियो । रा १ ख ७३८ नम्बरको बस पल्टेपनि बसमा सवार रहेका १५ जनाको समयमै उद्धार गरिएको हो । दुर्घटना भएको आधा घण्टापछि खबर पाएपछि इलाका प्रहरी कार्यालय होलेरीबाट इन्चार्ज प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माको नेतृत्वमा ७ जनाको प्रहरी टोलीसहित गाउँलेहरुले पल्टिएको बसभित्र रहेका यात्रुको उद्धार गरेको हो ।

बसमा सवार तिहार मानेर घर फर्कने मैतालुहरु रहेको प्रहरीले जनाएको छ । बिहान ९ः५० बजे भएको दुर्घटनामा प्रहरी र गाउँलेले तत्काल घटनास्थल पुगी उद्धार गरेकाले मानवीय क्षति हुन सकेन । बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस