२०८१ जेष्ठ ८ गते मङ्गलवार

तुलसीपुरबाट रोल्पाको सिमपानीमा जाँदै गरेको जिप दुर्घटना, तीन जनाको अवस्था गम्भिर

दाङ, ६ कार्तिक ।
दाङको तुलसीपुरबाट रोल्पाको सिमपानी जाँदै गरेको जिप सल्यानको सारपानीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते ८ जना मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रमुख केसीले बताउनुभयो । दुर्घटनामा सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिमखोलका ४२ वर्षिय निमकुमारी बुढा, सोहि ठाउँकै २५ वर्षिय रिमाकुमारी बुढा र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ सिमपानीका १२ वर्षिय प्रगती घर्ती गम्भिर घाइते हुनुभएको हो ।

गम्भिर घाइते तीन जनाको टाउको, ढाड र हातमा चोट लागेको छ । यस्तै सल्यानको त्रिवेणी–२ सिमखोलाका ४८ वर्षिय खड्क बहादुर बुढा, रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ सिमपानीका २२ वर्षिय झरणा घर्ती, सोहि ठाउँकै ५४ वर्षिय बम घर्ती, सोहि ठाउँकै ४६ वर्षिय रणबिर घर्ती र ५१ वर्षिय गंगाप्रसाद राना दुर्घटनामा परी घाइते भएको जिल्ला प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।

घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चालकसहित १५ जना सवार लु १ ज १४२४ नम्बरको जिप दिउँसो दुई बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर १ सारापानी खोरबारेको भित्रि सडकमा दुर्घटनामा परेको हो ।

दाङको तुलसीपुरबाट रोल्पाको सिम्पानीका लागि छुटेको जीप उकालोमा चढ्न नसकी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ४५ मिटर तल बाँसको झ्याङमा अडिएको छ । दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस