२०८१ असोज १८ गते शुक्रवार

मेट्रो कलेजमा पुनर्ताजगी तालिम


तुलसीपुर, २६ असोज ।
तुलसीपुर मेट्रो कलेजमा शिक्षक तथा कर्मचारीका लागि एकदिने पुनर्ताजगी तालिमको आयोजना गरिएको छ । शिक्षक तथा कर्मचारीलाई उत्प्रेरित गर्दै कार्यशैलीमा सकारात्मक प्रभाव ल्याउनका लागि तालिमको आयोजना गरिएको हो ।

कलेज सञ्चालक समिति अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पूर्विक दर्शनका व्याख्याता डा. चिन्तामणी योगीले शैक्षिक गुणस्तर मात्रै बढाएर देशको अवस्था सुधार्न नसकिने बताए ।


‘हाम्रा विद्यार्थीलाई पढाउने मात्रै होईन असल मान्छे बनाउने गरी पढाउनुपर्दछ अनिमात्र शिक्षाको अर्थ पुरा हुन्छ ’ डा. योगीले भने । उनले पश्चिमा मुलुकहरुमा मानिसहरु मेसिन जस्तै बन्दै गएको सन्दर्भ उल्लेख गर्दै जीवनको अर्थबोध गर्न नसक्दा धेरै मानिसहरु डिप्रेसनको शिकार हुँदै गएको उनको भनाई थियो । ‘हामीले शिक्षा मात्रै दिएर जीवन नपढाउँदा केयौ पढेलेखेका मानिसहरुले आत्महत्या गरिरहेका छन्’ डा. योगीको भनाई थियो ।


कार्यक्रममा नेपाल सरकारका पूर्व सह सचिव रमेशकुमार अधिकारीले विद्यार्थीलाई कस्तो बनाउने भन्ने कुरा शिक्षकको हातमा हुने बताए । उनले विद्यार्थी उत्तिर्ण गराएको संख्याका आधारमा शिक्षण संस्थाको मापन हुन नसक्ने कुरामा जोड दिए । ‘संस्थालाई राम्रो बनाउनका लागि सबै पक्षको व्यवस्थापन मिल्नुपर्दछ’ उनले भने ।


कार्यक्रममा बोल्दै उपप्रमुख स्यानी चौधरीले गुणात्मक शिक्षाको विकासका लागि स्थानीय सरकारले कलेज सञ्चालन गरेको बताईन् । उनले सबै पक्षको समन्वयबाट मात्रै कलेजको सपना पुरा हुने बताईन् । कार्यक्रमको बारेमा कलेज प्रमुख वसन्त आचार्यले जानकारी गराएका थिए भने सहजिकरण सहायक प्रशासक तिला ढकालले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस