सल्यान, ३० भदौ ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिममा रहेको जीवन ज्योती माविले बुधबार विभिन्न कार्यक्रम गरी ७० औँ वार्षिक उत्सव मनाएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णलाल कामीको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहराको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन र कपुरकोट गाउँपालिका उपाध्यक्ष तथा विद्यालयका सल्लाहकार सदस्य प्रकाश भण्डारीको विशिष्ट आतिथ्यतामा वार्षिक उत्सव कार्यक्रम भएको हो ।
त्यस अवसरमा वार्षिक उत्सव समारोहको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य बोहराले विद्यालयको भौतिक एवं शैक्षिक विकासको लागि सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक भुपाल साहुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
त्यस अवसरमा कपुरकोट-५ रिम निवासी पुरभान पुन, डम्बर पुन, दुर्गा पुन र डिला पुन गरी तीन दाजुभाई र एक बहिनीले आमा मनी पुनको सम्झनामा स्थापना गर्नुभएको मनी स्मृति फाउण्डेशन अक्षय कोषबाट विभिन्न व्यक्तित्वलाई सम्मान एवं उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्रि वितरण गरिएको हो ।
विद्यालयमा स्थापना भएको अक्षयकोषबाट पूर्व शिक्षक तथा दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल, पूर्व विद्यार्थी शैलेश खड्का, कपुरकोट-६ का निवर्तमान वडा अध्यक्ष हेरमबहादुर बुढा र कृषकको तर्फबाट कपुरकोट-५ मा रहेको तुसारे बहुउद्देश्यीय कृषि फमका संचालक सुजन बोहरालाई दोसल्लासहित सम्मानपत्रले सम्मान गरिएको हो ।
यस्तै मनीस्मृत अक्षयकोषबाटै विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्रि वितरण गरिएको हो । विद्यालयका पूर्व अध्यक्ष शिवराज विकले मनीस्मृति फाउण्डेशनको बारेमा जानकारी दिनुभएको हो ।
यसैगरी विद्यालयले पूर्व सल्यान जिल्ला विकास समिति सभापति तथा कपुरकोट-६ निवासी टेकबहादुर बोहरा, कपुरकोट-५ निवासी समाजसेवी ज्ञानबहादुर पुन, चन्दादाता कपुरकोट-५ निवासी धर्मराज बुढा, पुरभान पुन र नोमेश बहादुर वलीलाई सम्मान गरेको छ ।
यस्तै उत्कृष्ट शिक्षक तथा कर्मचारी मदन खड्का, दयाराम बुढा, राधा शर्मा र बलबहादुर पुनलाई पनि सम्मान गरिएको छ ।
विद्यालयको वार्षिक उत्सवको अवसरमा जीवन ज्योती शैक्षिक स्मारिका २०७९ पनि बिमोचन गरिएको छ । स्मारिकाको टिप्पणी साहित्यकार भद्रसिंह बुढाले गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयले सरसफाई, नियमित उपस्थिति र अनुशासन गरी तीन विधामा उत्कृष्ट ९ जना विद्यार्थीलाई प्रमाणपत्रले सम्मान गरेको छ ।
यस्तै वार्षिकउत्सवको अवसरमा संचालित मैत्रीपूणर् भलिवल प्रतियोगिताका खेलाडीलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ । विद्यालयले वर्षिक उत्सवको अवसरमा संचालन गरेको अन्तरसदनात्मक खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । यस्तै विद्यालयमा २६ वर्ष अध्यापन गर्नुभएका शिक्षक ब्रह्मदत्त मिश्रलाई विदाई गरिएको छ ।
त्यसअवसरमा विद्यालयका पूर्व विद्यार्थी दिपेन्द्र पुन, हिरान्जली राना र भिम ज्वलन्त योगीले विभिन्न सांगितिक प्रस्तुति राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक मदन खड्काले गर्नुभएको हो । विस २००९ सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा १२ सम्म विभिन्न संकायमा अध्ययन अध्यापन हुने गरेको छ ।